सम्पादकीय

बालेन शाह कुनै चमत्कार होइनन्

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीभित्र काठमाडौं महानगर प्रमुख बालेन शाहको प्रवेशले राजनीति तताएको छ । तर्कहरु एक होइन अनेक गरिएका छन्, गरिँदै जालान् । नयाँ पुस्ता यसमा बढी आवध्द भएर विवेचना गरिरहेको देखिन्छ । आशा र शंका मिश्रित तर्कहरु ज्यादा गरिएका छन् । के बालेन र रास्वपाले पुराना दलको निन्द्रा बिथोल्ने गरी घण्टी बजाउन सक्लान् भनेर व्यंग पनि गरिएको छ । त्यस्तो घण्टी बजेको खण्डमा त्यो खतराको संकेत हुनेछ कि नयाँ पुस्तामाथिको अर्को धोका ? भन्ने शंका पनि व्याप्त रहेको पाईन्छ ।

भनिन्छ, नेपालको राजनीति अहिले एउटा निर्णायक मोडमा उभिएको छ। दशकौँदेखि एउटै अनुहार, एउटै भाषण र एउटै असफलताको चक्रमा अल्झिएको देशले पहिलो पटक साँच्चिकै प्रश्न गर्न थालेको छ- अब पनि यिनै दल, यिनै नेता ? यही प्रश्नको गर्जनभित्र बालेन शाहको नाम उठिरहेको छ, र त्यही गर्जनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग उनको सम्भावित सहकार्यलाई अर्थपूर्ण बनाइरहेको छ ।

यो केवल एउटा व्यक्तिको पार्टी प्रवेशको कुरा होइन। यो पुरानो राजनीतिक संरचनामाथि प्रत्यक्ष चुनौती हो ।

नेपाली कांग्रेस, एमाले र पूर्व माओवादी हाल नेपाली कम्युनिष्ट पार्टी- यी दलहरूले लोकतन्त्रलाई सत्ता बाँडफाँडको उपकरण बनाएका छन् । निर्वाचनलाई औपचारिकता, संसदलाई सौदाबाजी र जनतालाई भुलाउने भाषणमा सीमित गरियो । भ्रष्टाचार आरोपमा घेरिएका नेता अझै “अनिवार्य विकल्प” का रूपमा प्रस्तुत हुन्छन् । असफलता स्वीकार्ने संस्कार छैन, सुधार गर्ने इच्छाशक्ति झन् छैन । आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्न उनीहरु नै तम्सिरहेका छन् ।

यही जडतामाथि बालेन शाहको सक्रिय राजनीतिमा प्रवेश एउटा चेतावनी ठानिएको छ ।

त्यसो त बालेन नेता होइनन्, उनी अस्वीकारको प्रतीक जस्ता बनेका छन् । बालेन कुनै परम्परागत नेता होइनन् । उनी प्रणालीप्रतिको अस्वीकार को प्रतिनिधि हुन् । काठमाडौं महानगरमा उनले देखाएको कार्यशैलीले स्पष्ट सन्देश दियो- “कानून बोल्छ, पहुँच होइन।”

यही कारण उनी युवामाझ लोकप्रिय छन्। भाषण होइन, निर्णय। सहानुभूति होइन, कार्यान्वयन। यही कुराले पुराना दललाई असहज बनाएको छ। किनकि बालेनले उनीहरूको सबैभन्दा ठूलो हतियार— ‘यस्ता काम नेपालमा सम्भव छैन’- लाई झुटो सावित गरिदिएका छन्।

एउटा बिर्सन नहुने कुरा के हो भने रास्वपा बालेनको एकता सम्भावना र परीक्षामा एकैसाथ उत्रिएका छन् । रास्वपा स्वयं पुराना दलको विकल्पको रूपमा उदाएको शक्ति हो। तर आजसम्म उसले विरोध त गर्‍यो, विकल्पको स्पष्ट नक्सा अझै बनाउन सकेको छैन। संसदमा आवाज छ, तर सडक र कार्यान्वयनको करिश्मा कमजोर छ।

यही ठाउँमा बालेनको प्रवेशले रास्वपाले अनुहार पाएको छ, बालेनले राजनीतिक आधार सहितको दलीय संरचना । तर प्रश्न कठोर छ, के रास्वपा बालेनलाई स्वतन्त्र रूपमा काम गर्न दिन तयार छ ?  वा उनी पनि पार्टी गणित र गुटको कैदी बनाइनेछन् र?

नयाँ पुस्ताको आशा पनि यही, जोखिम पनि यही । यदि बालेन–रास्वपा सहकार्य स्पष्ट सिद्धान्त, जिम्मेवारी र निर्णय प्रक्रियामा आधारित भयो भने- यो नयाँ पुस्ताका लागि राजनीतिमा फर्किने ढोका बन्न पनि सक्छ ।

तर यदि यो सहकार्य केवल चुनावी गणित, भावनात्मक लहर र “हिरो राजनीति” मा सीमित भयो भने त्यो नयाँ पुस्तामाथिको सबैभन्दा ठूलो धोका हुनेछ ।  किनकि यो पुस्तासँग अब धैर्य गरिरहने समय छैन । न त अर्को ३० वर्ष कुर्ने समय छ।

यो सम्झौता पुराना दललाई चेतावनी पनि हो भन्दा अन्यथा हुने छैन । बालेन–रास्वपाको सहकार्यलाई हल्का रूपमा लिनु उपयुक्त हुनेछैन । यो सहकार्य कुनै जात, क्षेत्र वा गुटमा सीमित छैन। यो असफल राज्य व्यवस्थाविरुद्धको मौन विद्रोह पनि हो।

बालेन शाहको रास्वपामा प्रवेश कुनै चमत्कार होइन, तर नेपालको राजनीतिक जडतामाथि पहिलो गम्भीर प्रहार हो । अब प्रश्न यस्तो छ- के नयाँ शक्ति साँच्चै नयाँ बन्न सक्छ ? कि पुरानै दलहरू जस्तै समयसँगै सडेर जानेछ ? यसको फैसला नेताले होइन, कर्मले गर्नेछ।

र त्यो कर्मको परीक्षा अब धेरै टाढा छैन ।

रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का

 

 

प्रतिक्रिया