नेपाली कांग्रेसका भूतपूर्व कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले सर्बोच्च अदालतको फैसलालाई चुनौति दिँदै आफ्नै नेतृत्वमा नयाँ संगठन बनाएर अगाडि बढ्ने गृहकार्य जारी राखेका छन्। निर्वाचन आयोगले दिएको फैसलालाई नै यथावत् स्वीकार गर्दैै सर्बोच्च अदालतले विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा चुनेको कार्यसमितिलाई मान्यता दिएको थियो।
पूर्ण बहादुर खड्काले भने यी संवैधानिक अंगहरुका निर्णयहरु आफूलाई मान्य नभएको स्पष्ट सन्देश दिनेगरी समानान्तर सक्रियता अघि बढाएका छन्। मंगलबार पनि उनले यस्तै भेला गरे र त्यो भेलामा आइतबार शेखर कोइरालाको भेलामा सहभागी कतिपय नेताहरुको समेत सहभागिता रहेको देखियो। यसरी हेर्दा कोइराला र खड्काको असन्तुष्टिको दुइवटा भँगालो एउटै दोभानमा मिसिएर अगाडि बढ्ने त होइन भन्ने संकेत देखिन्छ।
नेपाली कांग्रेसभित्र हाल देखिएको यो छटपटी केवल एउटा गुटगत भेला मात्र होइन, यो नेपाली राजनीतिकै एउटा विशिष्ट र जटिल संक्रमणकालीन अवस्थाको प्रतिविम्ब हो। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्व स्थापित हुनु, तर भूतपूर्व संस्थापन पक्ष (देउवा–खड्का समूह) र शेखर कोइराला समूहले अझै पनि आफ्नो अस्तित्व र सान्दर्भिकता खोज्नुका पछाडि केही गहिरा राजनीतिक र मनोवैज्ञानिक कारणहरू छन्।
पूर्णबहादुर खड्का र शेखर कोइरालाको वर्तमान सक्रियता र असन्तुष्टिलाई हेर्दा आगामी नियमित महाधिवशेनमा सहकार्यको गृहकार्य जस्तो देखिन्छ। विगतमा शेरबहादुर देउवाको संस्थापन र शेखर कोइरालाको इतर समूहबीच शक्तिको बाँडफाँट हुँदै आएको थियो। गगन थापाको उदय र विशेष महाधिवेशनले यो परम्परागत शक्ति सन्तुलनलाई भत्काइदिएको छ।
पूर्णबहादुर खड्का देउवा समूहका मुख्य रणनीतिकार हुन्। पार्टीको लगाम नयाँ पुस्ताका हातमा जाँदा आफ्नो राजनीतिक भविष्य र प्रभाव खुम्चिने डरले उनलाई पुनरावेदन र सेटिङ जस्ता शब्दहरू प्रयोग गर्न बाध्य पारेको देखिन्छ। उनी नयाँ नेतृत्व स्वीकारेर पार्टीको मूल प्रवाहमा पौडिन तयार छैनन् बरु असन्तुष्टिको सारंगी रेटेरै बस्न चाहन्छन् भन्ने पनि कतिपयलाई लाग्न थालेको छ।
बुझिनसक्नु छ शेखर कोइरालाको अन्योल। त्यसबेला कोइराला आफूलाई देउवाको स्वभाविक उत्तराधिकारी ठान्थे। तर अन्तिम समयमा विशेष महाधिवेशनको गाडी छुटाएका कोइराला न नयाँ टिमको नेता बन्न सके न त देउवाको उत्ताराधिकारी नै रहन पाए। गगन थापाको नेतृत्वले उनलाई सिनियर त मानिदियो, तर निर्णायक शक्तिबाट टाढै राखिदियो। विशेष महाधिवेशनपछिका कतिपय विशेष समयमा पनि शेखर कोइरालाको खोजी नभएको होइन तर खोजिएका बेला उनी भेटिएनन्। खोजिएका बेला नभेटिएका कोइराला समकालिन राजनीतिमा आफ्नो अस्तित्व रक्षाको चुनौति सामना गरिरहेका देखिन्छन्।
यता पूर्ण बहादुर खड्काले उठाएको 'सेटिङ र सर्वोच्चको व्याख्यामा चित्त नबुझेको' कुराले के संकेत गर्छ भने, उनीहरू अझै पनि कानुनी छिद्र खोजेर पुरानै अवस्था ब्युँताउन चाहन्छन्। उनीहरुको यो प्रयास र राजतन्त्र पुनस्थापनाको चाहना कता कता मिल्दोजुल्दो रहर जस्तो देखिन्छ।
खड्काको भनाइमा रास्वपाको दुई तिहाइ आउनुमा विशेष महाधिवेशनलाई दोष दिनु एक प्रकारको पराजित मानसिकता हो। यसले उनीहरू अझै पनि जनताको बदलिँदो चाहनाभन्दा पार्टीभित्रको प्राविधिक वैधानिकतामा अल्झिएका छन् भन्ने देखाउँछ।
गगन थापाले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेका छन्। खड्का र कोइरालाका यी भेलाहरू वास्तवमा आफ्ना रहेबचेका कार्यकर्ताहरूलाई निराश नहुन दिइएको सन्देश हो। सर्बोच्चको फैसलापछि उनीहरुमा हतासा बढ्नु अन्यथा पनि होइन। त्यसैले यी भेलाहरु नयाँ नेतृत्वलाई काम गर्न अप्ठ्यारो पार्ने र दबाब सिर्जना गर्ने रणनीति हो। भोलि हुने नियमित महाधिवेशनमा आफ्नो गुटको बार्गेनिङ पावर सुरक्षित राख्ने प्रयास पनि हो।
खड्काले आधा कांग्रेस बाहिर, आधा भित्र भन्नुको अर्थ उनीहरूले नयाँ नेतृत्वलाई पूर्ण रूपमा स्वीकार गरिसकेका छैनन् भन्ने हो। ६० दिनको पुनरावेदन म्यादको कुरा गरेर उनले आफ्ना समर्थकलाई अझै आश देखाउन खोजेका छन्। यो एक प्रकारको राजनीतिक रक्षात्मक रणनीति हो।
नेपाली कांग्रेसमा अहिले पुरानो भत्किएको तर नयाँले पूर्ण आकार नलिइसकेको अवस्था छ। पूर्णबहादुर खड्काको अभिव्यक्तिमा इतिहास खरानी पारिएको पीडा देखिन्छ भने शेखर कोइरालाको परामर्शमा नेतृत्वको भोक देखिन्छ।
यसलाई संक्षेपमा भन्नुपर्दा यो छटपटी नयाँ नेतृत्वप्रतिको अविश्वासभन्दा पनि आफ्नो गुम्दै गरेको बिरासत जोगाउने अन्तिम कसरत हो। यदि नयाँ नेतृत्वले यी असन्तुष्टिलाई व्यवस्थापन गर्न सकेन भने, कांग्रेसभित्रको यो आन्तरिक कलहले आगामी चुनावमा झन् ठूलो असर पार्ने निश्चित छ।
गगन थापाका लागि यो काँचको जुत्ता लगाएर हिँड्नु जस्तै चुनौतीपूर्ण अवस्था हो। एकातिर उनलाई आम जनता र युवा पुस्ताको परिवर्तनको तीव्र दबाब छ, अर्कोतिर पार्टीभित्रका पुराना खम्बाहरूको अस्तित्वको लडाइँ।
वास्तवमा नेपाली कांग्रेसमा अहिले देखिएको समस्या विचारको होइन, विरासतको व्यवस्थापनको हो। पूर्णबहादुर खड्का र शेरबहादुर देउवाहरूले दशकौँसम्म पार्टीको स्टेयरिङ सम्हाले। अहिले गगन थापाले स्टेयरिङ त हातमा लिए, तर गाडीका इन्जिन र पाङ्ग्राहरू अझै पनि पुराना नेताहरूसँगै टाँसिएका छन्। गगनले यी पुराना हस्तीहरूलाई रिटायर्ड लाइफको सम्मानजनक बाटो दिन सकेनन् भने उनीहरूले बाटोमा खाल्डा खनिरहने पक्का छ।
अहिलेको अवस्थामा कांग्रेस विभाजन हुने सम्भावना न्यून छ, किनकि विभाजित भएर जाने ठाउँ र शक्ति कसैसँग पनि छैन। बरु खतरा आन्तरिक विसर्जनको छ। यदि खड्का र कोइराला समूहले यसरी नै असन्तुष्टि पोखिरहे र गगनले उनीहरूलाई पेलेरै जाने नीति लिए भने, कार्यकर्ताहरूमा अन्योल बढ्नेछ।
यसको सिधा फाइदा रास्वपा वा अन्य उदीयमान शक्तिले लिनेछन्, जुन खड्काले आफ्नो समीक्षामा संकेत पनि गरिसकेका छन्। यतिबेला गगन थापासँग दुईवटा विकल्प छन्। विकल्प एक कडा कदम चालेर विधान र महाधिवेशनको म्यान्डेट भन्दै पुरानालाई पूर्णतः किनारा लगाउने जसले यसले पार्टीभित्र विद्रोह निम्त्याउन सक्छ।
दोस्रो विकल्प हो समन्वय जसले असन्तुष्ट पुराना नेताहरुलाई परामर्शदाता वा सम्मानित अभिभावकको भूमिकामा सीमित गरेर कार्यकारी अधिकार आफूमा राख्ने।
खड्काले ६० दिनभित्र पुनरावेदन जाने जुन कुरा गरेका छन्, त्यो वास्तवमा अदालत जाने तयारीभन्दा पनि गगन थापालाई तिमी अझै पूर्ण वैधानिक छैनौ भनेर मनोवैज्ञानिक दबाब दिने अस्त्र मात्र हो। यो गगनको काम गर्ने गतिलाई धीमा बनाउने एउटा ब्रेक हो।
गगन थापाका लागि यी पुराना नेताहरू निल्नु न ओकल्नु को अवस्थामा छन्। थापाले उनीहरूलाई समेट्ने नाममा सम्झौता गरे भने उनी आफ्नो एजेन्डामा असफल हुनेछन्, र यदि वास्ता नगरेर अघि बढे भने पार्टीको संगठनभित्रै असहयोग आन्दोलन सुरु हुनेछ।
कांग्रेस विभाजन नै त नहोला, तर एउटै म्यानमा दुईवटा तरबार अटाउन खोज्दा म्यान नै फाट्ने डर भने पक्कै छ। गगनले अब सेलिब्रेटी नेताबाट माथि उठेर कुशल संगठकको रूपमा यी पुराना बाघहरूलाई खोरमा थुन्ने कि जङ्गलतिर धपाउने, त्यो नै उनको राजनीतिक भविष्यको अग्निपरीक्षा हुनेछ।
प्रतिक्रिया