-गोविन्द लुइँटेल
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीजी,
तपाईंलाई यो एउटा खुलापत्र लेखेको छु । तपाईंको दल नेकपा एमालेको एघारौँ महाधिवेशन सकियो । ढुक्कको पूर्वानुमानअनुसार तपाईं नै महाधिवेशनका करिब ७५ प्रतिशत प्रतिनिधिको मत पाएर तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभयो । तपाईंको टिमका ९० प्रतिशत पदाधिकारी र भारी बहुमतमा केन्द्रीय सदस्यहरू निर्वाचित भए ।
महाधिवेशन हुनु तीन महिनापूर्वको परिदृश्यतिर फर्केर हेरौँ । प्रतिनिधिसभामा करिब दुई तिहाइ समर्थनका साथ दुई ठूला दलको सरकार थियो, प्रधानमन्त्री तपाईं नै हुनुहुन्थ्यो । त्यस बेला पनि तपाईं नेकपा एमालेका निरंकुश (निर् + अंकुश = निरंकुश = कुनै अंकुश नभएको) अध्यक्ष हुनुहुन्थ्यो ।
२०७२ को निर्वाचनपछि नेकपा कालमा तपाईंका गतिविधि सन्तुलनमा राख्ने अंकुश थियो । त्यो तपाईंले टिपेर फालिदनुभयो र निरंकुश बन्नुभयो । त्यसमा संयोगले हो कि नियतले अदालतको समेत सहयोग पाउनुभयो ।
यहाँ ‘निरंकुश’ को अर्थ चल्तीको ‘निरंकुश’ मात्र होइन; दलको सत्ता चलाउनमा कतैबाट अड्चन व्यहोर्नु नपर्ने, दलका संरचनाहरूप्रति उत्तरदायी हुन नपर्ने, एकल निर्णयले दल हाँक्ने र विरोधीहरूलाई पाखा लगाउनेसम्मको हो ।
हो, दलमा त्यस्तै हैसियतमा रहेर तपाईं देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईंको पक्षमा प्रतिनिधिसभाको दुई तिहाइ मत थियो । आफ्नो स्वेच्छाले वा गठबन्धनका दुई पार्टीबीचको सहमतिले भन्दा बाहेक अन्य प्रक्रियाले तपाईं अपदस्थ हुने स्थिति थिएन ।
तपाईंसहित सत्ता गठबन्धनका दुई ठूला दलका नेताहरूको साझा भनाइ हुन्थ्यो– सरकार गठनका सबै विकल्पहरू सकिए, यो गठबन्धनलाई असफल हुने छुट छैन, यही गठबन्धनले २०८४ मा निर्वाचन गराउनेछ ।
त्यस्तो बलियो र असफल हुने छुटसमेत नरहेको सरकारका प्रधानमन्त्री रहेका तपाईं १०–२० हजार युवा विद्यार्थी काठमाडौंको माइतीघरमा जम्मा भएपछिको २४ घण्टा समेत टिक्न नसकी सैनिक हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था कसरी सिर्जना भयो ?
यो प्रश्नको सत्य जबाफ तपाईंसँग मात्रै छ ओलीजी, केवल तपाईंसँग ।
यो प्रश्नको जबाफमा देशका सञ्चारमाध्यका केही सम्पादकहरू मौन भएझैँ इतिहास मौन रहने छैन । निर्मम र सम्यक समीक्षा हुने नै छ । सम्पादकहरूझैँ देशको इतिहास थाङ्नामा सुत्ने छैन, इतिहासले तपाईंलाई पानीमाथि ओभानो छाड्ने छैन ।
तपाईं वाचाल हुनुहुन्छ तर त्यो क्षमता कुटिल ढंगले दुरुपयोग गर्नुहुन्छ । यही स्वभावअनुसार सम्पादकहरूका प्रश्नको उपेक्षा गर्नुभयो, उपहासयुक्त जबाफ दिनुभयो । केटाकेटी (बालबालिका) लाई खुसी बनाउन भागिदिएको हुँ, भागिदिएजस्तो गर्दा केटाकेटीहरू रमाउँछन् भन्नुभयो ।
तर, भदौ २४ गते सैनिक हेलिकोप्टर चढेर भागेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका निरंकुश अध्यक्ष ओलीजी !
प्रश्न जीवितै छ– प्रतिनिधिसभामा दुई तिहाइ समर्थन रहेको दुई दलीय गठबन्धनको जननिर्वाचित सरकारका प्रधानमन्त्री भएर पनि भदौ २४ गते सेनाले हेलिकोप्टर चढाएर किन भगाउनुप¥यो ? तपाईं केटाकेटीहरूलाई खुसी बनाउन भागिदिएजसो गर्नुभएको कि सेनाले तपाईंको ज्यान जोगाइदिएको ?
यो प्रश्न सोध्नुको अर्थ तपाईंको जीवन त्यहीँ सकिनुपथ्र्यो भन्ने होइन । कृपया यस्तो अर्थ नलगाउनुहोला । तपाईंलाई सेनाले सुरक्षित उद्धार ग¥यो, बहुत राम्रो भयो ।
ठिक छ, फेरि पनि नेकपा एमालेको अध्यक्ष पदमा अविछिन्न निर्वाचित हुनुभएको छ । निर्वाचनको मत परिणामपछि तपाईंले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलार्ई असंवैधानिक भन्नुभयो ।
जननिर्वाचित कार्यकारी प्रधानमन्त्री संकट समाधान गर्न नसकेर भागेपछि राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुपरेको होइन ? सुशीला नभए अर्को कोही हुन्थ्यो होला ।
निश्चय नै, तपाईंले संवैधानिक प्रावधानबाटै प्रधानमन्त्री नियुक्त हुने र प्रतिनिधिसभा विघटन हुन नहुने धारणासहित राष्ट्रपतिलाई सुझाब दिनुभएको थियो तर तपाईं भागेर गुप्तवासमा गएपछि राष्ट्रपति रामचन्द्र पौडेल तपाईंको मागअनुसार मात्रै गर्नसक्ने परिस्थितिमा हुनुहुन्थ्यो ?
सम्झनुहोस् त, त्यो भदौ अन्तिम साता तपाईं राष्ट्रपति हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो ?
प्रतिनिधिसभा विघटन त तपाईंले पनि गराउनुभएको थियो, एक पटक होइन दुई पटक । दुवै पटक सर्वोच्च अदालतले तपाईंको कदम असंवैधानिक करार गरिदिएको हो ।
तपाईं प्रधानमन्त्री मात्र होइन, एकमना सत्तारूढ दलको अध्यक्ष हुनुहुन्थ्यो । त्यही दलभित्र जम्मा भएको दलदलबाट निस्केर आफूलाई अध्यक्ष कायम राख्न दुई पटक प्रतिनिधिसभा विघटन गराउनुभएको होइन ?
सुशीला कार्कीले रहरले विघटन गराएकी हुन् कि तपाईं हेलिकोप्टर चढेर भागेपछि उत्पन्न संकटको उपज हो ?
यो सरकार निर्वाचनको तयारी गर्दै छैन, षड्यन्त्र गर्दै छ भन्ने तपाईंको आरोप छ ।
आउँदो फागनु २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने भनिएको छ । भदौ २३–२४ अघि सरकार चलाएका राजनीतिक दल र तिनका नेता तपाईंहरूले सिर्जना गरेको संकटको परिणामस्वरूप सुशीला कार्कीको प्रधानमन्त्रित्वमा सरकार गठन भएको हो । यो तथ्य घामजत्तिकै छर्लंग छ ।
ओलीजी ! चुनावको तयारी गर्न, चुनाव सम्पन्न गर्न सरकारलाई सघाउने जिम्मा तपाईं र विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरूको हो कि होइन ? तपाईंहरूले सहयोग नगरे, भाग नलिए निर्वाचन हुँदैन । सुशीला कार्की र उनको मन्त्रिपरिषदका सदस्यहरूमाथि विष बमन गरेर संकट समाधान हुन्छ ?
तपाईंको दलले प्रतिनिधिसभा पुनस्र्थापनका लागि अदालतमा रिट दायर गरेको छ । पुनस्र्थापन भइगयो भने फेरि तपाईंहरूकै पालो आउला । तपाईं नै प्रधानमन्त्री बन्नु पनि होला । पुनस्र्थापन भएन भने कुन सरकारले निर्वाचन गराउँछ ?
तपाईंले गम्भीर हुंकार गर्नुभएको छ । सुशीला कार्कीको सरकारलाई धम्की दिनुभएको छ, आफूलाई ‘नछुन’ चेतावनी दिनुभएको छ ।
‘एमाले नेतृत्वमाथि छोएका दिन’, यसको अर्थ तपाईंलाई गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयान लिन बोलाएका दिन वा तपाईंलाई कुनै भ्रष्टाचारको अभियोगमा मुद्दा चलाएका दिन भन्ने नै हो । त्यस बेला देश ठप्प हुनुपर्छ; देश बन्द हुनेछ; ठप्प हुनेछ; यो सरकार ढल्नुपर्छ, तपाईंहरूले ढाल्नुहुनेछ ।
ठिक छ; सरकार ढल्नेछ, ढाल्नुहुनेछ । सरकार ढल्नु–ढाल्नु अगावै प्रतिनिधिसभा पुनस्र्थापन भयो भने सजिलो वा अप्ठ्यारो जे भए पनि एउटा मार्ग खुला होला । त्यसअगावै सरकार ढल्यो–ढाल्नुभयो भने के हुन्छ ?
अँ, तपाईंले टोलटोलमा सुरक्षा समिति गठन गर्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । यस्ता समिति गठन गर्न अन्य दलहरूलाई पनि सुझाब दिनुभएको छ ।
नेपाली समाजमा टोल विकास समिति, टोल सुरक्षा समिति बन्ने–बनाउने चलन पुरानै हो ।
तपाईंको निर्देशन चाहिँ तपाईंकै एउटा भनाइसँग जोडेर हेर्नुपर्ने हुन्छ । तपाईंको भनाइ छ– भदौ २४ मा हामी (सरकार) लाई एउटा धोका भयो, हामी तयारी अवस्थामा थिएनौँ, अस्ति हामी तयारी अवस्थामा थिएनौँ ।
तपाईंले भनेको अस्ति गएको भदौ २३–२४ होे ।
तपाईंले यसो पनि भन्नुभएको छ– सरकारमाथि मात्रै भर परेर हुँदैन, अस्ति हामी सरकारमाथि मात्र भर प¥यौँ, राज्यसंयन्त्रमाथि मात्र भर पर्दा हामी धोका पाउन सक्छौँ, हामी आफ्नै खुट्टामा उभिएर आफ्नो सुरक्षा गर्नुपर्छ ।
राज्यसंयन्त्र भन्नु प्रहरी, सेना, गुप्तचर लगायत राज्यका अन्य निकायहरू हुन् ।
अझ अघि बढेर तपाईंले भन्नुभएको छ– शान्तिको अनुभूति गर्न गराउन हाम्रो आफ्नै सुरक्षा प्रबन्ध हुनुपर्छ, यस्तो प्रबन्धले उद्योगी, व्यवसायी र सञ्चारमाध्यको समेत सुरक्षा गर्नेछ ।
यहाँ हाम्रो भनेर तपाईंले आफू अध्यक्ष रहेको दल भन्नुभएको हो ।
यस्तो सुरक्षा प्रबन्ध गर्न तपाईंले आफ्ना कार्यकर्तालाई दिएको म्यादअनुसार सामान्यतया यही पुस १० पछि सबैले तपाईंको दलले बनाएको सुरक्षा संयन्त्रमा खबर गरे हुनेछ । सबैलाई सुरक्षा प्राप्त हुनेछ ।
एक छिन तपाईंको भनाइका आयामहरूतर्फ विचार गरौँ ।
‘शान्ति सुरक्षाका लागि सरकारमाथि, राज्य संयन्त्रमाथि भर परेर हुँदैन, अस्ति राज्य संयन्त्रमाथि मात्र भर पर्दा हामीले धोका पायौँ ।’ तपाईंको यो ब्रह्मज्ञानको अर्थ हो प्रधानमन्त्री रहँदा तपाईंले राज्यसंयन्त्रको सहगोग पाउनुभएन, तपाईंको सरकारलाई असहयोग भयो ।
सेना सरकारको निर्णयअनुसर काम गर्ने संगठन हो । प्रहरी सरकारले एक्लै चलाउँछ । राष्ट्रिय अनुसन्धान विभाग तपाईंले प्रधानमन्त्री कार्यालयअन्तर्गत नै राख्नुभएको थियो ।
सरकार भन्नु व्यक्तिगतरूपमा प्रधानमन्त्री, मन्त्री वा तिनको समूह होइन । मन्त्रिपरिषदसहित कर्मचारी संयन्त्र, सैनिक, प्रहरी, गुप्तचर र सरकार अन्तर्गतका अन्य निकायहरूको संयुक्त संरचना हो । संविधान र कानुनले प्रबन्ध गरेका अन्य संरचनाहरू छँदैछन् । यी सबैको संयुक्त संरचना नै राज्य हो ।
चार पटक प्रधानमन्त्री हुनुभयो । फेरि हुने दाउमा हुनुहुन्छ । यति कुरा तपाईंलाई सम्झाउने पर्ने होइन ।
‘शान्ति सुरक्षाका लागि सरकारमाथि, राज्य संयन्त्रमाथि भर परेर हुँदैन, अस्ति राज्य संयन्त्रमाथि मात्र भर पर्दा हामीले धोका पायौँ’ भन्ने तपाईं फेरि प्रधानमन्त्री हुनुभयो भने धोका नहुने संयन्त्र कसरी बनाउनुहुन्छ ?
खासमा राज्य संयन्त्रबाट प्रधानमन्त्रीले धोका पाएको होइन ओलीजी ! खासमा तपाईंले राज्य संयन्त्रको उपेक्षा गर्नुभएको हो । तपाईंलाई सबै सुरक्षा निकायका प्रमुखहरूले सचेत गराउने प्रयास गरेका थिए । सामाजिक सञ्जालतिर भइरहेको आगजनीको अभ्यासबारे पनि तपाईंलाई जानकारी गराएका थिए ।
आमनागरिकमा भुसको आगो जसरी फैलिँदै गरेको असन्तोषका बारेमा पनि तपाईंलाई धेरैतिरबाट जानकारी गराउने प्रयास भएको हो । राज्य संयन्त्रका अधिकारीहरूले, स्वतन्त्र लेखक–विश्लेषकहरूले र तपाईंको भलो चाहने सबैजसोले तपाईंलाई सुशासनको भ्रम र निद्राबाट ब्युझाउने प्रयास गरेका थिए ।
यी कसैलाई पनि तपाईंले पत्याउनुभएन । नपत्याएको मात्र होइन, उपेक्षा गर्नुभयो, उपहास गर्नुभयो, व्यंग्य र कटाक्ष गर्नुभयो ।
तपाईंले भन्ने गरेझैँ तपाईं प्रधानमन्त्री रहेको पूर्ववर्ती सरकार र तपाईंको दलविरुद्ध देशी–विदेशी षड्यन्त्र भयो, देशमा अस्थिरता मच्चाउने खेल भयो, लोकतन्त्र मास्ने र पश्चगमन गर्ने षड्यन्त्र भयो भन्ने मानौँ ।
तपाईंले नै भनेझैँ भदौ २३ गते दिउँसो एक बजेपछि भोलिपल्ट २४ गते दिनभरिको घटना पूर्वतयारीका साथ षड्यन्त्रमूलक थियो भन्ने पनि मानौँ ।
भित्रभित्रै त्यति ठूलो षड्यन्त्र र तयारी भइरहेको कुरा तपाईं प्रधानमन्त्रीले कसरी थाहा पाउनुभएन ? सुइँको समेत किन पाउनुभएन । तपाईंको राज्यसंयन्त्रले कसरी थाहा पाएन ?
राज्य संयन्त्रले थाहा नपाएको थिएन, तपाईंले तिनका कुरा नपत्याउनु भएन । तिनको उपेक्षा र उपहास गर्नुभयो ।
तपाईं भन्नुहुन्छ– २४ गते हामीलाई धोका भयो, हामी तयारी अवस्थामा थिएनौँ ।
तपाईंले ‘धोका’ भन्नुको अर्थ राज्यसंयन्त्रबाट सहयोग नपाएको, विध्वंशको तयारी भइरहेको सुइँको नपाएको र रोकथामको तयारी गर्न नसकेको भन्ने हो ? त्यस्तो धोका पाउने तपाईं कस्तो प्रधानमन्त्री ? तपाईंको सरकार के सरकार ?
धोका नै भयो रे, प्रतिनिधिसभामा दुईतिहाइ सांसदको समर्थन भएको र दुई ठूला दलको गठबन्धन सरकारलाई राज्यसंयन्त्रले धोका दिने अवस्था कसरी सिर्जना भयो ? त्यसो हुनुमा प्रधानमन्त्रीका रूपमा तपाईंको कुनै जिम्मेवारी, नैतिक दायित्व हुँदैन ? अलिकति ग्लानी हुँदैन ?
अब तपाईंको दलले गर्ने सुरक्षा प्रबन्धको कुरा गरौँ ।
तपाईंले भनेको कुरा जस्ताको तस्तै पत्याऔँ र सेना, दुई वटा प्रहरी संगठन, गुप्तचर, कर्मचारी संयन्त्र लगायतले सूचना दिएनन्, सुरक्षा दिएनन्, जिम्मेवारीबाट पन्छिए भन्ने मानौँ । यसकारण तपाईंको दलले सुरक्षा प्रबन्ध गर्नेछ भन्ने पनि मानौँ ।
अब तपाईंको दलले सशस्त्र द्वन्द्वकालका तत्कालीन नेकपा माओवादीले चलाएको जस्तो सुरक्षा प्रबन्ध चलाउने हो ? दलको सैनिक, प्रहरी र गुप्तचर निकाय बनाउने हो ? उद्योगधन्दामा सुरक्षा गार्ड राखिदिने हो ?
प्रहरीले झैँ तपाईंको दलको सुरक्षा संयन्त्रले अभियुक्त पक्राउ गरेर दलकै अदालतमा उभ्याउने हो ?
तपाईं जतिसुकै वाचाल हुन खोजे पनि, चर्को स्वरले अरूलाई थाङ्नामा सुताउने प्रयार गरे पनि तपाईंको अहंकार चुलिँदै गएपछि पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा तपाईं पूर्णतः असफल हुनुभएको हो । ‘सुशासन’ तपाईंको ओठको नारा मात्र भएको हो । यसका बग्रेल्ती दृष्टान्तहरू छन् ।
तपाईं द्रुत गतिमा बोल्नु होला, कुटिल तर्क गर्नु होला, आफूलाई दक्ष साबित गर्ने प्रयास पनि गर्नुहोला तर तपाईंको पछिल्लो सरकार पूर्णरूपमा असफल भएकै हो । तपाईंको सत्ता गठबन्धन नालायक सावित भएकै हो ।
जतिसुकै ठूलो षड्यन्त्रको कारणले नै किन नहोस्, हेलिकोप्टर चढेर प्रधानमन्त्री भाग्नुपर्ने अनि परिणामस्वरूप संविधान र राज्यप्रणाली नै तहसनहस हुने अवस्था आउनु सरकार असफल हुनु नै हो । प्रधानमन्त्री पदबाट व्यक्तिगतरूपमा तपाईं असफल हुनु भएकै हो ।
तपाईं भारी मतले दलको अध्यक्ष निर्वाचित हुनु, फेरि सांसद पदमा निर्वाचित हुनु वा फेरि पनि प्रधानमन्त्री बन्नु व्यक्तिगतरूपमा तपाईंको सहफलता मानिएला तर जिम्मेवारी वहनका हिसाबले तपाईं पूर्णत असफल भइसक्नुभयो ।
तपाईंले देश भड्खालोमा हालिसक्नुभयो ।
तपाईंमा दुई ठूला दलको सत्ता गठबन्धनमा दुई तिहाइ सांसदको समर्थन रहेको अहंकार थियो । त्यही अहंकारले तपाईंलाई आफ्नो सत्तामार्ग निष्कण्टक छ भन्ने भ्रम थियो । प्रतिनिधिसभाको हिसाबबाहेक बाहिर पनि बहीखाता हुन्छ, अनेक तानाबाना बुनिन सक्छन् भन्ने सोच्नु भएन ।
देशको वर्तमान परिस्थिति अन्योलग्रस्त छ ।
फागनु २१ मा निर्वाचन होला कि नहोला ?
भयो भने कस्तो परिस्थितिमा होला ?
फागुन २१ मा निर्वाचन भएन भने के होला ?
प्रतिनिधिसभा पुनस्र्थापन भयो भने देशमा कस्तो अवस्था सिर्जना होला ?
आज उपर्युक्त सबै प्रश्नको जबाफ आवश्यक छ । शान्त र धीर मनले यी प्रश्नको सम्यक जबाफ नखोजी देशमा राजनीतिक स्थायित्व हुँदैन । तपाईंले भनेको ‘समृद्ध नेपाल सुखी नेपाली’ केवल तपाईंको ओठे नारामा सीमित हुनेछ ।
ओलीजी,
यस्तो अन्योलको अवस्थामा तपाईंको अहंकार देशका लागि अझ बढी घातक हुन सक्छ । धैर्य र संयमका साथ सम्यक ढंगले अघि बढ्नुभयो भने मात्रै तपाईं तेस्रो पटक नेकपा एमालेको निरंकुश अध्यक्ष निर्वाचित भएको सार्थक हुनेछ ।
प्रधानमन्त्रीका रूपमा विगतमा तपाईंले गरेका राम्रा थोरै काम बिर्सेर तपाईंसामु यति प्रश्न गरेको होइन । तपाईंको अहंकार त्याज्य छ । अहंकार त्यागेर एमालेको निरंकुश अध्यक्ष मात्र होइन, फेरि अर्को एकदुई पटक प्रधानमन्त्री बन्ने मात्र होइन, राजनेता बन्न सक्नुहोस् भन्ने आशय हो ।
तपाईं सत्यको कुरा गर्नुहुन्छ । म सत्य बोल्छु भन्नुहुन्छ, सत्य बोल्न नडराऔँ भन्नुहुन्छ ।
ओलीजी ! तर्कद्वारा सिर्जना गरिने सत्य पनि सापेक्षित हुन्छ । तपाईंले सत्य देखेको कुरा अर्कोलाई असत्य पनि लाग्न सक्छ । जस्तो कि तपाईंको प्रधानमन्त्रित्वकालमा सुशासन थियो भन्ने कुरा तपाईंले देखेको सत्य हो । त्यस बेला कुशासन शिखरमा पुगेको थियो भन्ने कुरा मैले देखेको सत्य हो ।
सत्य बोल्न नडराऔं भन्ने तपाईंको कुरामा मेरो शतप्रतिशत समर्थन छ ।
आजलाई यति नै । (फायल तस्बिर: पार्टीको महाधिवेशनमा मतदान गर्न उभिएका ओली)
भिडियो सामग्री हेर्न यहाँ क्लिक गर्नसक्नुहुनेछ- के केपी ओली यी प्रश्नको जवाफ दिन तयार छन् ?
प्रतिक्रिया