कोशी पर्यटन वर्षलाई उचाइमा पुर्याउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : कृष्ण शाह

काठमाडौं । कोशी प्रदेश सरकार यतिबेला ‘कोशी पर्यटन वर्ष’को प्रचार प्रसारमा छ । ‘रमणीय कोशी’ भन्ने सन्देश तय गर्दै ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणामा ८२ पर्यटकीय गन्तव्यको सूची नै तयार गरिएको छ । ‘८२ सालका लागि ८२ पर्यटकीय गन्तव्य’ सूची बनाएर प्रदेश सरकार प्रचार अभियानमा छ ।

पर्यटन वर्षलाई प्रभावकारी, व्यवस्थित र दीर्घकालीन उपलब्धिमूलक बनाउने उद्देश्यले सरकारले उच्चस्तरीय निर्देशक समिति गठन गरी विभिन्न तहमा सक्रिय पहल थालेको छ । निर्देशक समिति काठमाडौं आएर नेपाल पर्यटन बोर्ड, केन्द्रीय व्यावसायिक संघ–संस्था, सिनेकर्मी तथा संघीय सरकारका सरोकारवाला निकायहरूसँग महत्वपूर्ण छलफल र समझदारी पनि गरिसकेको छ । यसै सन्दर्भमा रहेर कोशी पर्यटन वर्ष २०८२ निर्देशक समितिका सहसंयोजक कृष्ण शाहसँग गरेको कुराकानीमा उनले पर्यटकीय स्थलको प्रवद्र्धन र पर्यटन वर्षको प्रचारमा केन्द्रीत रहेको बताए ।

उनले निर्देशक समितिमा पर्यटनमन्त्री, मन्त्रालयका सचिव, पर्यटन क्षेत्रका प्रतिनिधि तथा निजी क्षेत्रका व्यवसायी सह–संयोजकहरू रहेका बताए । शाहका अनुसार काठमाडौंलाई केन्द्रमा राखेर प्रचार अभियान पनि सुरु गरिएको छ । नेपाल पर्यटन बोर्डसँगको नयाँ समझदारीले कोशी प्रदेशको पर्यटन प्रवर्धन औपचारिक शुभारम्भ समेत भएको उल्लेख गरे । सोहीअनुसार नेपाल पर्यटन बोर्डसँग अन्तर्राष्ट्रिय तथा आन्तरिक बजार प्रवर्धनका लागि पेशागत सहयोगसम्बन्धी सम्झौता गरिएको बताए ।

सम्झौताअनुसार नेपाल पर्यटन बोर्डले कोशी प्रदेशका पर्यटन गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न, मानव संसाधनको क्षमता विकास गर्न तथा प्राविधिक र पेशागत सहयोग उपलब्ध गराउनेछ । निर्देशक समितिले यस समझदारीलाई कोशी पर्यटन वर्षका लागि ‘माइलस्टोन’ का रूपमा लिएको छ । त्यसैगरी संघीय संरचनाअन्तर्गत रहेका होटल संघ, ट्राभल एसोसिएसन, पर्वतारोहण संघलगायत सबै केन्द्रीय पर्यटन व्यवसायिक संस्थाका अध्यक्ष तथा सीईओहरूसँग पनि विस्तृत छलफल गरिएको छ । उनीहरूलाई कोशी प्रदेशका प्रमुख पर्यटन उपजहरूको जानकारी गराउँदै, आगामी दिनमा सेक्टोरियल आधारमा आइटिनेरी पर्यटन मार्ग तथा प्याकेज विकास गर्ने सहमति भएको छ । यसका लागि छुट्टाछुट्टै समझदारीपत्र तयारीको चरणमा रहेको शाहले जानकारी दिए ।

पर्यटन प्रवर्धनमा सिनेमा र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै निर्देशक समितिले चर्चित सिनेकर्मी, निर्माता, अभिनेता–अभिनेत्री तथा अभियन्ता पत्रकारहरूसँग पनि छलफल गरेको छ । पछिल्लो समय कोशी प्रदेशमा छायांकन गरिएका फिल्महरू सफल भएका उदाहरण प्रस्तुत गर्दै समितिले पूर्वी नेपाललाई ‘फिल्म डेस्टिनेसन’ का रूपमा विकास गर्न अनुरोध गरेको छ । सिनेकर्मीहरूले पनि सकारात्मक प्रतिक्रिया दिएको र आगामी दिनमा कोशीलाई प्राथमिक छायांकन स्थल बनाउने प्रतिबद्धता व्यक्त गरेको शाहको भनाइ छ ।

काठमाडौं भ्रमणका क्रममा संघीय पर्यटन मन्त्रालयका मन्त्री र सचिवसँग भेटगरी पर्यटन क्षेत्रमा देखिएका संरचनागत, कानुनी र व्यवस्थापकीय समस्याहरूबारे ध्यानाकर्षण गराइएको पनि उनले जानकारी दिए । उनका अनुसार यस्ता विषय संघीय सरकारकै पहलमा एकीकृत रूपमा समाधान गर्नुपर्ने निष्कर्ष निकालिएको छ । ‘वन मन्त्रालयका सहसचिवसँग कोशी टप्पु वन्यजन्तु आरक्ष र वरपरका क्षेत्रलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ,’ उनले भने । ‘यससम्बन्धी थप प्राविधिक छलफलका लागि वन मन्त्रालयको टोली पूर्व जाने तयारीमा रहेको छ ।’

शाहका अनुसार कोशी पर्यटन वर्ष मनाउनुका तीन प्रमुख उद्देश्यहरु छन् । पहिलो, पर्यटकीय गन्तव्यका स्थानीय बासिन्दामा पर्यटन चेतना अभिवृद्धि गरी त्यसलाई समृद्धिसँग जोड्नु । दोस्रो, प्रदेश संरचनाभित्र पर्यटन गतिविधिलाई संस्थागत र दिगो बनाउन स्पष्ट कार्यदिशासहितको संरचना निर्माण गर्नु । तेस्रो, पर्यटनसँग सम्बन्धित सबै सरोकारवालाको क्षमता अभिवृद्धि गर्नु । प्रवर्धन र बजारीकरण यी उद्देश्यसँग जोडिएका सहायक गतिविधि भएको समितिको धारणा छ । ‘कोशी प्रदेश भौगोलिक रूपमा काठमाडौंभन्दा टाढा भए पनि चार देशसँग नजिक रहेको विशिष्टता बोकेको प्रदेश हो । यो प्रदेश बंगलादेश २९ किलोमिटर, भुटान करिब ५९ किलोमिटर दूरीमा रहेको छ भने भारतसँग खुला सीमाना र चीनसँग पनि पछिल्लो समय सडक सम्पर्क विस्तार हुँदै गएको छ,’ उनले भने । ‘यस भूराजनीतिक अवस्थालाई पर्यटनमार्फत अधिकतम उपयोग गर्ने रणनीति पर्यटन वर्षको महत्वपूर्ण आधार मानिएको छ ।’

संस्कृति र प्रकृतिका हिसाबले पनि कोशी प्रदेश अत्यन्तै समृद्ध भएको तथ्य उजागर गर्दै शाहले भने,‘यहाँ १०० भन्दा बढी जातजातिको बसोबास छ । जहाँ हिन्दु, किराँत र बौद्ध संस्कृतिको जीवन्त संगम देख्न सकिन्छ । खानपान, भेषभूषा, भाषा र संस्कृतिको विविधता नै प्रदेशको ठूलो शक्ति हो । प्राकृतिक दृष्टिले ८ हजार मिटरभन्दा अग्ला विश्वकै सर्वोच्च र तेस्रो सर्वोच्च शिखरसहित पाँच प्रमुख हिमाल, तराईका फाँट, कोशी टप्पु वन्यजन्तु आरक्ष, मध्यपहाडी सौम्य भूबनोट, चियाबारी, खोला–नाला र सुन्दर हिल स्टेशनहरू प्रदेशका आकर्षण हुन् ।’

प्रदेश सरकारले पछिल्लो समय मध्यपहाड केन्द्रित ट्रेल विकासलाई पनि प्राथमिकता दिएको छ । मुन्धुम ट्रेलले हालै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ भने फाल्गुनन्द ट्रेल, लालीगुराँस ट्रेल, चियाबारी ट्रेल र किरात निशान ट्रेल विकासको चरणमा छन् । इलामको सूर्योदय, कन्याम, फिक्कल, धरानको भेडेटार, राजारानी, भोजपुर र उदयपुर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरू पर्यटनको ठूलो सम्भावना बोकेका क्षेत्रका रूपमा चिनिएका छन् । यद्यपि, पर्यटन वर्ष घोषणा भएपछिको प्रारम्भिक चरणमा संरचना, कार्यविधि र कानुनी सुधारको अभावका कारण अपेक्षाअनुसार खर्च र गतिविधि अघि बढ्न नसकेको स्वीकारोक्ति पनि निर्देशक समितिले गरेको छ । करिब १० करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयन संयन्त्र नहुँदा पूर्ण उपयोग हुन नसकेको बताइएको छ । हालसम्म प्रचार सामग्री निर्माण, महोत्सव सहभागिता, क्षमता विकासका कार्यक्रम तथा भारतीय बजार केन्द्रित प्रवर्धन गतिविधि सञ्चालन भएका छन् । शाहका अनुसार हाल भइरहेको समन्वय, सहकार्य र समझदारीले अब कोशी प्रदेश पर्यटन वर्षलाई वास्तविक अर्थमा उचाइमा पुर्याउने आधार तयार भएको छ ।

कोशी प्रदेशलाई पर्यटनको केन्द्र बनाउने रणनीति

कोशी प्रदेशलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको सशक्त गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रदेश सरकारले बहुआयामिक रणनीति अघि सारेको शाहले बताएका छन् । उनका अनुसार कोशी प्रदेश पर्यटन वर्षलाई दीर्घकालीन उपलब्धिसँग जोड्ने प्रयासमा प्रदेशले धार्मिक आस्था, साहसिक पर्यटन, बसोबास व्यवस्थापन, अन्तर्राष्ट्रिय बजार प्रवर्धन र टुरिजम डिप्लोमेसीलाई एकैसाथ अघि बढाएको छ ।

पाथीभरा करिडोरसहित धार्मिक पर्यटनमा जोड

कोशी प्रदेश धार्मिक आस्थाका दृष्टिले अत्यन्तै समृद्ध प्रदेश हो । यहाँ रहेका पाथीभरा देवी, हलेसी, बराहक्षेत्र, रामधुनी, अर्जुनधारा, शिवसताक्षी, बुढासुब्बा, दन्तकाली, माङसेबुङ, खुवालुङजस्ता स्थलहरू धार्मिक पर्यटनका प्रमुख आधार हुन् । विशेषगरी पाथीभरा देवीलाई केन्द्रमा राखेर ‘पाथीभरा करिडोर’ विकास गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए । झापा जिल्लाको चारआलीदेखि ताप्लेजुङसम्म फैलिएको यस करिडोरमा चारआली नजिकको पाथीभरा, हर्कटे–कोल्बुङको सानी कान्छी पाथीभरा, इलामको पञ्चकन्या, ताप्लेजुङ बजार हुँदै मूल पाथीभरा देवीसम्म धार्मिक यात्रा सम्भव हुने शाहले बताए । यसले धार्मिक पर्यटकलाई एउटै यात्रामा बहुआयामिक आस्थाको अनुभव दिने अपेक्षा गरिएको छ । त्यस्तै, रामधुनीलाई विश्वामित्र ऋषिको आश्रम रहेको, शस्त्र र शास्त्र अध्ययनको प्राचीन केन्द्रका रूपमा प्रवर्धन गर्न खोजिएको छ । बराहक्षेत्रलाई ‘धर्तीको पहिलो धाम’का रूपमा चिनाउँदै धार्मिक पर्यटकको आकर्षण बढाउने लक्ष्य लिइएको उनले जानकारी दिए ।

साहसिक पर्यटनको प्राकृतिक आधार

धार्मिक र सांस्कृतिक पर्यटनसँगै कोशी प्रदेश साहसिक पर्यटनका लागि पनि अत्यन्तै उपयुक्त रहेको शाहको भनाइ छ । तमोर याफ्टिङ, धरान क्षेत्रको याफ्टिङ, मोटरबोट, प्याराग्लाइडिङ, साइक्लिङ, क्लाइम्बिङ, झरनामा क्यानोनिङ तथा हिउँ परेको समयमा नागी क्षेत्रमा आइस स्केटिङको सम्भावनासमेत प्रदेशमा रहेको उनले बताए । उदयपुर र धरान आसपासका तीन स्थानबाट प्याराग्लाइडिङ सञ्चालन भइरहेको छ भने तमोरदेखि मुलघाट हुँदै बराहक्षेत्रसम्मको नदी यात्रा साहसिक पर्यटकका लागि आकर्षक बनेको छ । ‘हामीसँग बनावटी पूर्वाधार होइन, प्राकृतिक पूर्वाधार छ, त्यसैले साहसिक पर्यटनका लागि ठूलो लगानी आवश्यक पर्दैन,’ शाह भन्छन् ।

बसोबास पूर्वाधारमा आत्मनिर्भर कोशी

पर्यटक बसोबासको हिसाबले कोशी प्रदेश आत्मनिर्भर बन्दै गएको बताउँदै शाहले हाल प्रदेशमा तीनवटा फाइभ स्टार होटल सञ्चालनमा आइसकेका र छ वटा फाइभ स्टार होटल निर्माणको चरणमा रहेको जानकारी दिए । उनका अनुसार यसका अतिरिक्त तीनवटा सीएमजी क्लब र दुईवटा क्यासिनो सञ्चालनमा छन् भने अर्को क्यासिनो खुल्ने तयारीमा छन् । ‘मध्यम र टुरिस्ट स्ट्यान्डर्ड होटलहरू तराईदेखि मध्यपहाडसम्म विस्तार भइरहेका छन् । होटल नपुगेका क्षेत्रमा होमस्टे, फार्मस्टे र गोठस्टेले नयाँ विकल्प दिएका छन् । इलामको सूर्योदय नगरपालिका, सन्दकपुर, पाँचथर र ताप्लेजुङमा होमस्टे राम्रोसँग सञ्चालनमा छन,’ उनले भने । ‘फार्मस्टेमा ३५–४५ दिनसम्म बस्दै आफैँ खेती गर्ने, चिया टिप्ने र उपभोग गर्ने अनुभव विदेशी पर्यटकका लागि आकर्षण बनेको छ । फालेलुङ र कोशी टप्पु आसपास गोठस्टेले गोठाले संस्कृतिको प्रत्यक्ष अनुभव गराइरहेको छ ।’

अन्तर्राष्ट्रिय बजार र टुरिजम डिप्लोमेसी

कोशी प्रदेश चार देश—भारत, चीन, भुटान र बंगलादेश—सँग नजिक भए पनि इमिग्रेसन र कनेक्टिभिटी चुनौतीका रूपमा छन् । बंगलादेश २९ किलोमिटर मात्रै टाढा भए पनि सहज आवतजावतको व्यवस्था नहुँदा पर्यटन लाभ लिन कठिन भइरहेको शाह बताउँछन् । चीनतर्फ पनि इमिग्रेसन संरचना कमजोर छ । उनका अनुसार यही चुनौती समाधान गर्न नेपाल पर्यटन बोर्डसँग अन्तर्राष्ट्रिय तथा आन्तरिक बजार प्रवर्धनका लागि औपचारिक सम्झौता गरिएको छ । प्रदेश सरकार आफैँ विदेशमा लगानी र प्रचार गर्न कानुनी रूपमा सीमित भएकाले नेपाल पर्यटन बोर्डलाई मुख्य साझेदार बनाइएको हो ।

जेनजी स्वयंसेवक र नयाँ मार्केटिङ मोडेल

कोशी प्रदेशले पर्यटन प्रवर्धनमा नयाँ अभ्यास सुरु गरेको शाहको दाबी छ । करिब ५०० नवयुवालाई ‘टुरिजम भोलेन्टियर’का रूपमा परिचालन गर्ने योजना बनाइएको उनले बताए । यी स्वयंसेवकले वर्षमा कम्तीमा तीन महिना, रोटेसनमा न्यूनतम १५ दिनसम्म फेस–टु–फेस मार्केटिङमा काम गर्ने उनले जानकारी दिए । २४ घन्टे टुरिस्ट हटलाइन चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । भारतीय पर्यटकका लागि गाडीमा टुरिस्ट स्टिकर प्रणाली लागू गरी प्रदेशभर सहज यात्रा सुनिश्चित गरिनेछ ।

शाहका अनुसार होटल, यातायात, सुरक्षादेखि बसोबाससम्म कुनै समस्या नआउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै शाहले देश–विदेशका सबैलाई कोशी भ्रमणको निम्तो दिएका छन् । ‘एक रात मात्रै भए पनि कोशीमा बस्न सकियो भने ठूलो आर्थिक र सांस्कृतिक लाभ हुन्छ,’ उनी भन्छन् । धार्मिक आस्था, साहसिक पर्यटन, सांस्कृतिक विविधता र आधुनिक पर्यटन रणनीतिलाई एकै सूत्रमा बाँध्दै कोशी प्रदेशले अब पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने दिशामा निर्णायक कदम चालेको शाहको दाबी छ । (नेपाल न्यूज बैंक)

प्रतिक्रिया