नेपाल आज राजनीतिक संक्रमणको लामो चक्रबाट थकित अवस्थामा उभिएको छ। संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि स्थायित्व, सुशासन र आर्थिक पुनरुत्थान जनताको जीवनमा ठोस रूपमा अनुभूत हुन सकेको छैन । यस्तो पृष्ठभूमिमा नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रचण्ड नेतृत्वका दलहरू मुख्यतः निवर्तमान माओवादी केन्द्रले अब सत्ता–प्रतिस्पर्धाभन्दा माथि उठेर राष्ट्रहितलाई केन्द्रमा राख्ने ऐतिहासिक जिम्मेवारी वहन गर्नैपर्छ। समयले यही माग गरिरहेको छ ।
देशको पुरानो राजनीतिक दल नेपाली कांग्रेसको ऐतिहासिक पहिचान लोकतन्त्र, उदारवाद र संस्थागत राजनीतिसँग जोडिएको छ। तर पछिल्ला वर्षहरूमा कांग्रेसभित्र नीति भन्दा गुट, विचार भन्दा व्यक्तिको प्रभुत्व बलियो देखिएको छ। राष्ट्रहितका लागि कांग्रेसले अब तीन स्पष्ट कदम चाल्नुपर्छ।
पहिलो, संस्थागत लोकतन्त्रको पुनःस्थापना । पार्टीभित्रै विधि, प्रक्रिया र विचारको सम्मान नगरी राष्ट्रिय लोकतन्त्र बलियो हुन सक्दैन। दोस्रो, आर्थिक एजेन्डामा स्पष्टता । बजारमुखी सुधार, रोजगारी सिर्जना र निजी–सार्वजनिक साझेदारीलाई नाराभन्दा नीतिमा उतार्नुपर्छ। तेस्रो, राजनीतिक स्थिरतामा जिम्मेवार भूमिका । सत्तामा रहँदा मात्र होइन, प्रतिपक्षमा रहँदा पनि राज्य सञ्चालन अवरुद्ध गर्ने प्रवृत्तिबाट कांग्रेस अलगिनुपर्छ।
आफूलाई सबैभन्दा ठूलो वामपन्थी दल ठान्ने एमालेले राष्ट्रवादको नाममा केन्द्रीकरण कि सुधारमुखी राजनीति भन्नेमा स्पष्ट हुनुपर्ने समय आएको छ ।
एमाले आफैंलाई राष्ट्रवादी र निर्णायक नेतृत्वको प्रतीकका रूपमा प्रस्तुत गर्नेगर्दछ। तर राष्ट्रवाद नारामा सीमित हुँदा, नेतृत्व अत्यधिक केन्द्रीकृत र व्यक्तिवादी हुँदा, त्यो राष्ट्रहितभन्दा सत्ता–हिततर्फ मोडिने जोखिम हुन्छ। सत्तामा रहँदाको एमालेको छवि यसरी नै प्रकट भएको थियो ।
राष्ट्रहितका लागि एमालेले व्यक्तिकेन्द्रित राजनीति त्यागेर नीतिकेन्द्रित बहस अघि बढाउनुपर्छ। संघीयता, समावेशिता र संवैधानिक अंगहरूप्रति सशंकित दृष्टिकोण होइन, सुधारको एजेन्डा ल्याउनुपर्छ। छिमेकीसँगको कूटनीतिका सम्बन्धमा सन्तुलन, आन्तरिक अर्थतन्त्रमा उत्पादनमुखी नीति र प्रशासनिक सुधार— यी क्षेत्रमा एमालेले आफ्नो निर्णायक छविलाई सकारात्मक परिणामसँग जोड्न सक्नुपर्छ। एमाले आफ्नो नेतृत्वको अभिमान, अहंकार दम्भी कार्यशैलीबाट पनि पीडित हुँदैआएको प्रतीत भएको छ । सबैभन्दा पहिले उसले यसमा सुधार गर्न आवश्यक देखिन्छ । अन्यथा नेतृत्वमा विद्यमान उल्लेखित प्रवृत्तिले सिंगो संगठन नै शिकार हुने जोखिम रहन्छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले अहिले आएर नयाँ स्वरुप धारण गरेको छ । अरु वामपन्थी दलहरु समेटेर बनेको नयाँ स्वरुपमा ‘माओवादी’ शब्द परित्याग गरेको जस्तो देखिन्छ । विगतमा माओवादी सशस्त्र हिंसात्मक आन्दोलनले राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको स्वीकार गरिएको छ । तर त्यो आन्दोलनको स्मृतिले मात्रै आजको राष्ट्र चल्दैन। यतिखेर प्रचण्ड नेतृत्वका दलहरू अहिले निर्णायक मोडमा छन्—परिवर्तनको भाष्यमा अड्किने कि परिणाममुखी राजनीतिमा रूपान्तरण हुने ?
राष्ट्रहितका लागि यी दलहरूले सत्तामा हुँदा स्थायित्व र नीतिगत सुधारमा निरन्तरता देखाउन सक्नुपर्ने थियो, त्यसमा उनीहरु असफल देखिएका छन् । दलहरुले क्रान्तिकारी भाषाभन्दा सुशासन, सेवा प्रवाह र विकास परिणामलाई प्राथमिकता दिनुपर्छ। साथै, विगतका द्वन्द्वसम्बन्धी मुद्दामा सत्य, न्याय र मेलमिलापलाई निष्कर्षतर्फ लैजानु नै दीर्घकालीन राष्ट्रिय एकताको आधार बन्न सक्छ।
नेपाली कांग्रेस, एमाले र निवर्तमान माओवादी केन्द्र— यी तीनै दल बिना नेपालमा स्थायित्व सम्भव छैन भन्ने कुरामा नयाँ पुस्ता त्यति पत्यार गर्दैन । परिस्थिति बदलिएको छ, नयाँ पुस्ता राष्ट्रिय राजनीतिप्रति त्यति उदासिन पनि छैन जति हिजो थियो । २३ र २४ भदौपछि यो सोचमा ठूलो परिवर्तन आएको छ । त्यसैले सत्ताको खेललाई नै राजनीतिको मुख्य धेय ठानेर यी दलहरूले एक–अर्कालाई कमजोर पार्ने दाउपेच गरिरहे भने राष्ट्रहितमा योगदान गर्ने विकल्प तयार हुँदै गएको छ भनेर महसुश गर्नुपर्छ । समयको पदचाप बुझ्न विलम्व गर्ने सुविधा अब कसैसँग पनि छैन । दलहरुको आनीबानीमा सुधार नहुने हो भने न लोकतन्त्र बलियो हुन्छ, न अर्थतन्त्र नै उठ्छ।
आजको आवश्यकता न्यूनतम राष्ट्रिय सहमति हो—संविधान कार्यान्वयन, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, सुशासन र सन्तुलित परराष्ट्र नीति । सरकार फेरिने, गठबन्धन टुट्ने–बन्ने क्रम चलिरहला तर राष्ट्रको उन्नतिको दिशा फेरिनु हुँदैन।
इतिहासले यी दलहरूलाई सोध्ने प्रश्न सरल हुनेछ: तपाईंहरू सत्ता जित्न सफल हुनुभयो कि राष्ट्र बनाउने साहस देखाउनुभयो ? यसको उत्तर आज प्रदर्शन गरिने राजनीतिक आचरणमै लुकेको छ।
सान्दर्भिक भिडियो सामग्री पनि हेर्नुहोला
प्रतिक्रिया