पर्सा । देशभर चर्किएको जेन–जी आन्दोलनको प्रभाव पर्सा जिल्लामा पनि देखिएको छ । आन्दोलनका क्रममा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, काठमाडौँमा भदौ २३ गते भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि भदौ २४ गते पर्सामा आन्दोलन उग्र बनेको हो। त्यस क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विटमा क्षति पुर्याइएको छ । प्रदर्शन उग्र बन्दा केही आन्दोलनकारीले प्रहरी पोस्टहरू लक्षित गरी तोडफोड र आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, आन्दोलनका क्रममा पाँच जना प्रहरी घाइते भएपनि उपचारपछि उनीहरू सबै पुन: ड्युटीमा फर्केका छन् ।
एसपी मिश्राले भने, ‘आज बेलुकीसम्म सबै प्रहरी विटहरू पुन:स्थापना हुनेछन् । स्थानीयवासी, बुद्धिजीवी र भद्रभलादमीहरूको सहयोगमा प्रहरी कर्मचारीहरू आफ्नो पोस्टमा फर्किएका छन् र ड्युटी सम्हाल्न थालेका छन् ।’ प्रहरीका अनुसार, चौकीहरू पुन: सञ्चालनमा आएपछि प्रहरीको मनोबल बढेको र स्थानीय सुरक्षामा सहजता आउने अपेक्षा गरिएको छ । प्रहरी प्रशासनले सबैलाई शान्तिपूर्ण तरिकाले आफ्नो आवाज उठाउन आग्रह गर्दै, सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मीमाथि आक्रोश पोख्ने कार्य नगर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया