जनकपुर । मधेशलगायत नेपालको तराई क्षेत्रमा मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । यो पर्व विशेषगरी मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी तथा अन्य समुदायका महिलाहरूले आस्थाका साथ मनाउने गर्दछन् ।
महिलाहरूले आफ्नो सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि निराहार ब्रत बस्ने परम्परा रहेको छ । जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्व निकै गहिरो छ ।
हिन्दु धर्मशास्त्रअनुसार जितमहान नामक वीर पुरुषको स्मरणमा यो पर्व सुरु भएको मानिन्छ । जितमहानले कठिन सङ्घर्ष र वीरता प्रदर्शन गरेर धर्मको रक्षा गरेका थिए भन्ने धार्मिक विश्वास छ । यसैको स्मरणमा महिलाहरूले ब्रत बस्ने र भगवानलाई प्रसन्न पार्ने प्रचलन रहिआएको हो ।
तीन दिनसम्म मनाइने यो पर्वलाई अति कठोर पर्व मानिन्छ । पर्वको आज पहिलो दिन (ओठगन) मा महिलाहरूले नदी, पोखरी वा धारा किनारमा गई स्नान गर्ने र विशेष परिकार बनाई खाने गर्छन् ।
त्यस्तै, भोली दोस्रो दिन (निर्जला उपवास) बिहानै स्नान गरेर दिनभरि एक थोपा पानी पनि नखाई ब्रत बस्ने गर्छन् । साँझमा पूजा–अर्चना गरी कथा सुन्ने परम्परा छ ।पर्सी तेस्रो तथा अन्तिम दिन (पारण) ब्रत समाप्त गर्ने दिन हो । यस दिन बिहानै नुहाएर परिकार बनाएर पूजा गरी ब्रतालुहरूले खाना खाने गर्छन् ।
सामाजिक रूपमा पनि जितियाले ठूलो महत्व बोकेको छ । यो पर्वले परिवार र समुदायबीच आपसी प्रेम, विश्वास र सहकार्य बढाउने विश्वास गरिन्छ । महिलाहरू एकै ठाउँमा भेला भई कथा सुन्ने, गीत गाउने र सामूहिक पूजा गर्ने चलनले सामाजिक एकता बलियो बनाउँछ ।
धार्मिक विद्वान्हरूका अनुसार यो पर्व मातृत्वको प्रतीक हो र महिलाले आफ्नो सन्तानप्रतिको प्रेम र जिम्मेवारीलाई यस अवसरमा प्रकट गर्ने अवसर पाउँछन् ।
प्रतिक्रिया