काठमाडौं । ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ ।
महाधिवेशनका कारण सडकमा जाम हुने र आवतजावतमा असजिलो भएपछि गोदावरी घुम्न जाने पर्यटकहरु पसलसम्म नआएकाले बिक्री घटेको पसलका सञ्चालकहरु बताउँछन् ।
महाधिवेशनका लागि आएका प्रतिनिधिहरुको लागि खाना र खाजाको व्यवस्था भएका कारण प्रतिनिधिहरु बाहिरतिरका पसलहरुमा चिया मात्र पिउनका लागि आउने स्थानीय व्यापारी दुर्गा मगर बताउँछिन् । २५ वर्षदेखि गोदावरीमा व्यापार गर्दै आएकी दुर्गाले महाधिवेशनका कारण कारोबार बढ्ने आशामा थिइन् तर नियमित कारोबारमा समेत गिरावट आउँदा दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘महाधिवेशनको चहलपहल ठिकै छ । यतिको चहलपहल हरेक शनिबार भइरहन्थो । महाधिवेशनले ठिकै हो व्यापार यथावत नै छ । पहिलाको जस्तो छैन, आश गरे अनुसार धेरै कम छ ।’
महाधिवेशनमा आउने प्रतिनिधिहरुका कारण पार्किङ अव्यवस्थित भएकाले आफ्नो पसलसम्म ग्राहकनै नपुगेको उनको भनाइ छ । ‘पसल अगाडि बाइकहरु राखिदिएर सबै छेकिदिन्छन् । पार्किङको व्यवस्था राम्रो छैन । पार्किङले पनि असर परेको छ । घुम्न आउने पर्यटकहरु पनि फाट्टफुट आउनुभएको देखिन्छ । पसल छेकिएर सिधै गइहाल्नुहुन्छ,’ उनले भनिन् ।
गोदावरी नगरपालिकाले गोदावरी क्षेत्रमा भएका अव्यवस्थित पसलहरु हटाएर स्मार्ट पसलको अवधारणा ल्याएको थियो । जसले गर्दा टहरो वा छाप्रोमै व्यवसाय सञ्चालन गर्नुपरेको उनले बताइन् । ‘पसल पनि पहिले आफैले बनाउँदा राम्रो थियो । अहिले स्मार्ट पसलको अवधारणाका कारण राम्रो व्यवस्थापन गरेर पसल चलाउन सकिएको छैन् । सामान राख्छौ अहिले यस्तै छाप्रैमा चलाइरहेका छौ,’ उनले भनिन् । यस्तै १५ वर्षदेखि उक्त क्षेत्रमा व्यापार गर्दै आएकी मिठु मगर पनि व्यापार नहुँदा चिन्तित छिन् । चाउचाउ, कुर्मुरे, पानी, चिप्स लगायतका खुद्रा सामानहरुको मात्र बिक्री गर्ने मिठुको व्यापार तीनदिन देखि ठप्पप्राय छ । उनले भनिन्, ‘एमालेको महाधिवेशनले असर गरेको छ । व्यापार खास छैन् । चिया खानेहरु त हुन्छन् । म चिया बेच्दिन मेरो खुद्रा सामान मात्र हो । हिजोअस्ति व्यापार अलि अलि हुन्थ्यो । आज त्यो पनि छैन् ।’
कम्तिमा दिनको दुई हजारसम्म भएपनि व्यापार हुनेमा अहिले ठप्प हुँदा उनी महाधिवेशनको अन्त्य पनि पूरानै कारोबारमा फकिर्ने आशमा छिन् । ‘अहिलेको माहोलले बाहिरका मानिसहरु आउन पाएनन् । जसले गर्दाखेरी व्यापार अलि घट्यो । अघिपछि त ठिकै छ । पर्सिबाट व्यपार होली कि,’ उनले भनिन् । एमालेको विधान महाधिवेशनले सभाहल परिसरमै खाना, खाजा र चियाको व्यवस्था गरेकाले आसपासमा संचालित पसलहरुमा सोचे अनुसारको व्यापार नभएको गुनासो छ ।
प्रतिक्रिया