काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला मानिदै आएको दशरथ रंगशाला अब कुनै बहुराष्ट्रिय व्यवसायिक कम्लेक्समा रुपान्तरण भयो भने आश्चर्य नमाने हुन्छ । यसलाई अयोग्य साबित गर्दै भक्तपुरमा अर्को रंगशाला बनाउने सुस्त कार्य भैरहेको छ ।
पछिल्लो समय दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलहरु हुन सकेको छैनन् । एसियन फुटबल महासंघ (एएफसी)ले समेत रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डमा नपुगेको ठहर गरेपछि रंगशाला नै अयोग्य ठहर भएको छ ।
यतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा) भने दशरथ रंगशालालाई परिमार्जनसहित अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दापनि त्यसको विकल्पमा जुटेको छ । भक्तपुरको सूर्यविनायकमा दशरथ रंगशालाको विकल्पमा अर्को रंगशालाको निर्माणको प्रक्रिया अगाडि बढाएको एन्फाका प्रवक्ता सुरेश शाहीले जानकारी दिए । उनले भक्तपुरको दुईसय रोपनी जग्गामा रंगशाला निर्माण गर्न लागिएको बताउँदै चाँडो भन्दा चाँडो शिलान्यास गर्ने प्रक्रियामा हामी अगाडि बढ्ने दाबी गरे ।
उनले भने,‘यो रंगशालाको विकल्पको रूपमा हामीले नयाँ रंगशाला बनाउनुपर्छ भनेर नेपाल सरकारलाई एन्फामार्फत प्रक्रियाहरू अगाडि बढिसकेको छ । भक्तपुरको दुई सय रोपनी जग्गा सरकारबाट अथवा नगरपालिकाले निर्णय गरेर राष्ट्रिय खेलकुद परिषद्मा लैजाने र त्यसपछि एन्फालाई दिने भन्ने हिसाबले प्रक्रिया अघि बढेको छ । चाँडोभन्दा चाँडो यसलाई शिलान्यास गर्ने प्रक्रियामा अगाडि बढ्ने छौं ।’
त्यस्तै उनले व्यवस्थित अन्तर्राष्ट्रिय स्तरको मापदण्डहरू पूरा भएको रंगशाला नहुँदासम्म रंगशाला आफ्नो हातमा नहुने बताउँदै मापदण्डहरू पूरा नगर्दासम्म छोटो समयको लागि समस्या समाधान भएपनि दिर्घकालिन समाधान गर्न नसकिने धारणा राखे ।
उनले भने,‘रंगशालाका आफ्नै प्रक्रियाहरू छन् । जब व्यवस्थित अन्तर्राष्ट्रिय स्तरको वा मापदण्डहरू सबै पूरा हुँदैन् तबसम्म रंगशालाहरू आ–आफ्नो हातमा हुँदैन् । जब ट्रेनिङ फिल्डहरू आफ्नै हातमा हुँदैन, तबसम्म समस्याहरू आइरहन्छन् । सर्ट टर्मका लागि समाधान भएपनि लङ टर्मका लागि हुँदैन ।’
मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग बसेर छोटो समयको लागि रंगशालामा सुधार गर्न सकिने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । उनका अनुसार रंगशालामा अन्तर्राष्ट्रिय म्याचहरू ल्याउनको लागि एन्फा गम्भीर रुपमा लागि परेको छ ।
प्रवक्ता शाहले भक्तपुरको रंगशाला निर्माणको विषयमा आफूहरु अहिले जग्गा प्राप्तीको प्रक्रियामा रहेको बताउँदै इन्जिनियरिङ हिसाबले कामहरू अगाडि बढाइसकेको जानकारी दिए । यसअघि नयाँ तथा आधुनिक फुटबल रंशाला निर्माण गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र सूर्यविनायक नगरपालिकाबीच सैद्धान्तिक सहमति भएको थियो । तर स्थानीयबासीहरु भने विरोधमा उत्रिदै आएका छन् । रंगशालाका कारण स्थानीयबासी विस्थापित हुनेभएपछि उनीहरु आक्रोशित बनेका हुन् ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अत्याधुनिक तथा सुविधासम्पन्न फुटबल रंगशाला निर्माण गर्ने पटक पटक घोषणा गर्दै आइरहेका छन् । ओलीले एन्फाका पदाधिकारीलाई प्रधानमन्त्रीको कार्यालयमै बोलाएर खेल क्षेत्रको बढ्दो दायरासँगै दशरथ रंगशाला साँघुरो भएकाले आधुनिक रंगशाला निर्माण गर्ने प्रक्रियामा अघि बढ्न निर्देशन दिइसकेका छन् । त्यस्तै उनले खेलसँग सम्बन्धित हरेक कार्यक्रममा रंगशाला निर्माणको प्रसंग छुटाएका छैनन् । तर प्रक्रिया सुस्त गतिमा छ ।
हुनत दशरथ रंगशालामा दुई बर्षयता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन सकिरहेका छैनन् । पछिल्लोपटक रंगशालामा १७ नोभेम्बर २०२३ मा फिफा पुरुष विश्वकप २०२६ अन्तर्गत यमनविरुद्ध खेल भएको थियो । त्यस्तै केही महिनाअघि महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, महिला साफ च्याम्पियनसिप पनि आयोजना भएको थियो ।
तर यही अगस्ट १० मा नेपाल आएको एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधिमण्डल दशरथ रंगशालाको निरीक्षण गर्दा सुधार नभएको ठहर गर्दै अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नसकिने अवस्था बनिसकेको छ ।
त्यस्तै २०२४ मा पनि एएफसीबाट दशरथ रंगशालाको निरीक्षण गर्न आएको टोलीले एन्फालाई सुधार गर्न अनुरोध गरेको थियो । तर लामो समय वितिसक्दा पनि रगशालाको सुधार नभएकाले नेपाली फुटबललाई नकारात्मक असर परेको छ ।
जसका कारण नेपालले साउदी अरेबियामा २०२७ मा हुने एएफसी पुरुष एसियन कपको तेस्रो चरणको छनोट खेलहरू अन्यन्त्रै खेल्नुपर्ने अवस्था बनेको छ । तथापी, भदौ २१ गते शनिबार र २४ गते मंगलबार दुई दिन नेपाल र बंगलादेशबिचको मैत्री खेल भने आयोजना हुँदैछ । (नेपाल न्यूज बैंक)
प्रतिक्रिया