एसिया कपमा छनोट हुन सकेन नेपाली महिला क्रिकेट टोली, क्वाटरफाइनलमा पराजित

काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलबाट बाहिरिदैँ आगामी एसिया कपमा छनोट हुन असफल भएको छ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको क्वाटरफाइनल खेलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएपछि नेपालको एसिया कप यात्रा समाप्त भएको हो। थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो। नेपाली ब्याटिङ लाइनअप थाइल्यान्डका बलरहरू सामु टिक्न नसक्दा लक्ष्य भेट्टाउन सकेन। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक अविजित २० रन बनाइन। सोनी पाख्रिनले १५ रन, सीता रानामगरले १२ रन तथा सम्झना खड्काले ११ रनको योगदान दिइन। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। थाइल्यान्डका लागि थिपात्चा पुथावङले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिइन। सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले समान २–२ विकेट लिए भने फनिता मायाले १ विकेट हात पारिन।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो। थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले ५१ बलमा अविजित ६३ रनको अर्धशतकीय पारी खेलिन। फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन जोडिन्। नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान एक–एक विकेट लिए।

नेपाली महिला टोली यसअघि पनि एसियन गेम्स छनोटको निर्णायक खेलमा चीनसँग पराजित हुँदै छनोट हुन असफल भएको थियो। लगातार दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोटमा असफल भएपछि नेपाली महिला क्रिकेट टोलीमाथि थप दबाब बढेको छ।

प्रतिक्रिया