विद्युत अक्सिजन सरह भइसकेको छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा २४ घण्टा विद्युत प्रवाह गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले विद्युत क्षेत्रको उत्पादनलाई निजी क्षेत्रसँग सहकार्य गर्दै समयसापेक्ष र उपलब्धिमूलक ढंगले अघि बढाउन प्राधिकरण सफल भएको उल्लेख गरे । यद्यपि, यस क्रममा केही कमीकमजोरी रहेको स्वीकार गर्दै उनले ती सुधार गर्दै देशको आवश्यकतालाई मध्यनजर गरी सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी सर्वसाधारण नागरिकभन्दा एक कदम अगाडि छौं, त्यसैले हामीले केवल दायित्व नभई कर्तव्यबोधसहित प्रेरणादायी ढंगले काम गर्नुपर्छ । राज्यले ठूलो मात्रामा लगानी गरेको यो संस्था वार्षिक दुई खर्ब बजेटको कार्यसम्पादन गरिरहेको छ, जुन कतिपय मन्त्रालयभन्दा पनि ठुलो हो । यस्तो अवस्थामा प्राधिकरण जनउत्तरदायी ढंगले काम गर्न आवश्यक छ । ’

मन्त्री खड्काले विद्युत र ऊर्जा विकास देशको समग्र प्रगतिसँग जोडिएको भन्दै यसको महत्व अहिले संसारमा अक्सिजन सरह भइसकेको धारणा व्यक्त गरे । ‘जुनसुकै प्रविधि र विकास कार्य विद्युत तथा ऊर्जा बिना सम्भव छैन,’ उनले भने, ‘संसारले विद्युतको भरमा विकास गरिरहेको छ । त्यसैले यो क्षेत्र विस्तारै अक्सिजनको जस्तै अपरिहार्य बन्ने अवस्थामा पुगेको छ ।’ उनले विद्युतको सुरक्षित आपूर्ति र निरन्तर प्रवाह आवश्यक रहेको उल्लेख गर्दै प्राधिकरणले २४ घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्न सक्ने क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले ऊर्जा क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने दिशामा नेपाल विद्युत प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको बताए । साथै, उनले प्राधिकरणलाई समयअनुकूल सुधार र उत्तरदायी व्यवहारसहित अघि बढ्न सुझाव दिए । उनले भने, ‘यो संस्था विद्युत र उर्जा उत्पादन गर्ने संस्था हो । त्यसकारण उत्पादनसँगै विद्युत सुरक्षा चाहिएको छ । सुरक्षित प्रवाह चाहिएको छ, अर्थात २४ औं घण्टा विद्युत प्रवाह गर्न सक्ने गरि क्षमताको अभिवृद्धि गर्नुपर्नेछ । यस लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले काम गर्न सक्नुपर्दछ ।’

 

प्रतिक्रिया