बाजुरा । बाजुरा जिल्लाको प्रमुख धार्मिक स्थल बडिमालिका मन्दिरमा साउन पुर्णिमामा दर्शन तथा पुजा अर्चना गर्न जाने हजारौं तीर्थालु भक्तजनहरु त्यस तर्फ प्रस्थान गरेका छन् ।
प्रत्येक वर्ष साउन पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन विशेष पूजा गरिने बडिमालिका मन्दिरमा यस वर्ष पनि हजारौं श्रद्धालुहरुको सहभागिता रहने अनुमान गरिएको छ । मंगलबार बिहान बाजुराको सदरमुकाम मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी र बडीमालिका नगरपालिकाका वडा अध्यक्ष अर्जुन नाथको संयोजकत्वमा सरकारी टोली विशेष डोला सहित बडिमालिकातर्फ प्रस्थान गरेको हो । टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सलामी अर्पण गरी विधिवत् रुपमा विदाई गरेको थियो । चार दिनको कठिन पैदल यात्रा पछि तीर्थालुहरु बडिमालिका मन्दिर पुग्ने गर्दछन् । जहाँ चतुर्दशीको दिन विशेष पूजा, मेलापर्व र दर्शन हुने परम्परा रहँदै आएको छ । यसै क्रममा बुढिनन्दा मन्दिरमा समेत पूजा गर्न आजैदेखि भक्तजनहरुको ओइरो लागेको छ ।
बढ्दो आस्था र सहभागिता
बडिमालिका पूजा व्यवस्थापन समितिका अनुसार, यो वर्ष विगतका वर्षहरूको तुलनामा झन् धेरै श्रद्धालुहरूको सहभागिता रहनेछ । नेपाल सहित विदेशबाट समेत भक्तजनहरू बडिमालिका दर्शनका लागि त्यस तर्फ प्रस्थान गरेका छन् । स्थानीयबासीहरुका अनुसार, पछिल्लो समय बडिमालिका मन्दिरप्रति धार्मिक मात्र नभई पर्यटकीय आकर्षण पनि बढ्दो छ ।
प्राकृतिक सुन्दरतासहितको पवित्र तीर्थ
समुद्र सतहदेखि करिब ४ हजार २ सय मिटरको उचाइमा अवस्थित बडिमालिका मन्दिर धार्मिक आस्थासँगै प्राकृतिक सुन्दरताको अनुपम संगमको रूपमा परिचित हुँदै आएको छ । डाँडाकाँडा, हरियाली वनजंगल, रंगीचंगी फूलहरू, दुर्लभ जडीबुटी र मनोरम दृश्यले हरेक तीर्थालुलाई मोहित बनाउने गरेको छ । धार्मिक मान्यताअनुसार, बडिमालिका मन्दिरमा पुजा अर्चना गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । विशेष गरी साउन पूर्णिमाको अवसरमा पूजा गर्दा विशेष फल प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।
धार्मिक पर्यटनको सम्भावना
बडिमालिका र बुढिनन्दा जस्ता धार्मिक गन्तव्यले बाजुरा जिल्लामा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । पछिल्लो समय यी स्थलहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा पनि चर्चामा रहेका छन्, जसले गर्दा स्वदेशी तथा विदेशी पर्यटकहरूको चाँसो बढ्दै गएको छ । बडिमालिका मन्दिरको पूजा तथा तीर्थयात्रा न केवल धार्मिक आस्थाको विषय हो, यो नेपालको धार्मिक र प्राकृतिक सम्पदाको गौरवपूर्ण प्रतीक पनि हो । यस्तो समृद्ध स्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनले आगामी दिनमा धार्मिक पर्यटनको दिगो आधार तयार गर्न सक्ने बडिमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापाले जानकारी दिइन् । (नेपाल न्यूज बैंक)
प्रतिक्रिया