सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेशमा अन्तर्राष्ट्रिय संस्थाहरु सक्रिय

जनकपुर । सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ । 

मधेश प्रदेश सरकारका मुख्यमन्त्रीको सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिचाई पुरÞ्याउन अनुरोधपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरुले नियमित गतिविधि साथै खानेपानी र सिँचाइमा काम शुरु गरेका छन् । समाज कल्याण परिषदले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई सुख्खा क्षेत्रको समस्या समाधानको लागि लाग्न अनुरोध गरेको अवस्थामा सुख्खा क्षेत्रको प्रतिकार्यमा वास क्लस्टर, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा अन्तर्राष्ट्रिय संस्थाहरुले मधेशमा सुख्खाग्रस्त क्षेत्रमा स्थानीय साझेदार संस्थामार्फत प्रतिकार्य गरिरहेको एआइएनकी मधेश प्रदेश सम्पर्क व्यक्ति प्रमिल अधिकारी जानकारी दिइन् । 

अधिकारीको अनुसार सेभ द चिल्डेन नेपालले सर्लाहीको इश्वरपुर नगरपलिका वडा १० मा दशहजार लिटर पानी ५३४ घरधुरीलाई वितरण गरेको, अक्सफाममार्फत रौतहटको चपुरमा २०० घरधुरी, सर्लाहीको हरिपुर, हरिवन र मलंगवामा २०० घरधुरीलाई सेलो ट्वेल र खानेपानी वितरण गरेको छ । प्लान इन्टरनेसनल नेपालले धनुषा सविला नगरपालिकामा १००० घरधुरीलाई पानीको जार वितरण गरेको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालले महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा क्रमशः ५५ र ३१४ घरधुरी साथै सर्लाहीको हरिपुर्वामा ९३ र रौतहटको माधव नारायणमा ४२ घरधुरीलाई साना सिँचाइ सहयोग गरेको छ ।

स्लामिक रिलिफबाट रौतहटको राजपुर र चपुरमा १००० घरधुरी साथै बाराको महागडीमाइ र सुवर्णमा ५० घरधुरीलाई पुग्ने डिपबोरिङ गड्ने काम शुरु गरेको छ । वाटर एडमार्फत सिराहाको लाहान नगरपालिकामा ३०० दलित बस्तीमा खानेपानीको लागि चापाकल र पाइप वितरण गरेको छ । एसएनभिले प्रदेशको खानेपानीको अवस्था बारे अध्ययन र अनुसन्धानमा सहयोग गरिरहेको छ साथै धनुषा र महोत्तरीको ५ पालिकामा डिपबोरिङको अध्ययन शुरु गरेको छ । अन्तर्राष्ट्रिय संस्थाहरु पिपुल इन निड, एक्सन एड, गुड नेवर्स, युएमएन जस्ता संस्थाहरु योजना छनोट र स्थानीय तहसँग समन्वय भइरहेको छ । साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना कार्यान्वयनमा संचालनमा आएको छ । 

खडेरी प्रभावित पर्साको विरंगज, बहुरडरमाइ, बाराको सिमसनगडी, रौतहटको परोहा नगरपलिका , सर्लाहीको कविलासी, सिराहाको लक्ष्मी पटहरी गाउँपालिका र सप्तरीको रुपनी, तिलाठी कोइलाडी र हनुमाननगरका १० पालिकामा लागू हुने यो कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुनेछ। स्टार्ट फन्ड नेपाल तथा साझेदार संस्थाहरूको समन्वयमा सञ्चालन हुने यो परियोजनाबाट ८ हजार ३ सय ५५ घरधुरीका करिव ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन्। कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । साथै विश्व खाद्य कार्यक्रम मार्फत रौतहटको माधवनारायण नगरपालिका र सप्तरीको हनुमाननगर र तिलाठी कोइलाडीमा स्यालो ट्वेल, पम्पसेट, मोटपाइप बढ्ने कार्य शुरु गरेको छ । 

अन्तर्राष्ट्रिय संस्थाहरुले मधेश प्रदेशमा सुख्खाग्रस्त क्षेत्रको तत्काल र दिर्घकालीन समस्या समाधानको लागि प्रदेश सरकार, स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन संग सहकार्य गर्दै स्थानीय साझेदार संस्थाहरु मार्फत काम भइरहेको र आगामी दिनहरुमा प्राथमिकता रहने छ । प्रदेश सरकारले दिर्घकालीन समस्या समाधानको लागि स्पष्ट नीति योजना ल्याउन आवश्यक छ ।
 

प्रतिक्रिया