काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् ।
मंगलबार ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् । उनले भने, ‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो । नौ पटक सरकारको नेतृत्व गर्दा के दियौ के बदल्यौं, के पूरा गर्यौ वा किन गरेनौ ? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ ।’
उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिवीको अवस्था, उत्पीडित जाती, दलितहरु माथिको दमन, अत्याचार उस्तै रहेको बताए । यसैगरी कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्लो समय राजनीतिक आन्दोलनमा युवा पुस्ताको मनस्थिति फरक रहेको बताए । ‘हामीले बिर्सिनु हुँदैन हरेक क्रान्तिकारी आन्दोलन यो युगको बौद्धिक आन्दोलन हो ।सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो । त्यसको निष्कर्ष आफैंमा बौद्धिक निष्कर्ष हो । आजको राजनीतिक आन्दोलनमा युवाहरुको मनस्थिती फरक छ । युवाको मनस्थिति बुझ्न नसके यसको मूल्य हामीजस्तो दोस्रो पिंढीले तिर्नुपर्नेछ,’ उनले भने ।
प्रतिक्रिया