महिलाहरूमा सबैभन्दा धेरै पाइने ४ क्यान्सर:  कारण, लक्षण र उपचार

विश्वभर पछिल्ला केही वर्षहरूमा क्यान्सरका मामिलाहरूमा वृद्धि भएको छ। महिलाहरूको संख्यामा पनि बढोत्तरी देखिएको छ। दक्षिण एसियाली महिलाहरूमा सबैभन्दा बढी स्तन क्यान्सर, इन्डोमेट्रियल क्यान्सर, पाठेघरको मुखको क्यान्सर (सर्भाइकल) र डिम्बाशयको क्यान्सर (ओवेरियन) देखिने गर्छन्। यदि यसका लक्षणहरू समयमै पहिचान गरी रोकथामका कदम चालियो र सही समयमा उपचार सुरु गरियो भने ज्यान जाने जोखिमलाई कम गर्न सकिन्छ।

अध्ययन अनुसार, सन् २०२२ मा मात्रै महिलाहरूमा क्यान्सरका करिब ७ लाख ४९ हजार २५१ नयाँ मामिलाहरू देखिएका थिए। महिलाहरूको शारीरिक संरचना, हर्मोनल परिवर्तन र जीवनशैलीका कारण केही विशिष्ट क्यान्सरको जोखिम बढी हुन्छ। खुसीको कुरा यो छ कि धेरैजसो क्यान्सर सुरुवाती चरणमा पत्ता लागेमा उपचार सम्भव छ।

१. स्तन क्यान्सर 

यो महिलाहरूमा हुने सबैभन्दा साझा क्यान्सर हो। यसमा स्तनका कोषिकाहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन् र गाँठो वा ट्युमरको रूप लिन्छन्।
कारण: हर्मोनल असन्तुलन, पारिवारिक इतिहास, मोटोपना, ढिलो गर्भधारण, स्तनपान नगराउनु र अत्यधिक मद्यपान।
लक्षण: स्तनमा गाँठो महसुस हुनु, स्तनको आकार वा छालामा परिवर्तन, निप्पलबाट अस्वभाविक तरल पदार्थ बग्नु र काखीमुनि सुन्निनु।
जाँच: म्यामोग्राफी, अल्ट्रासाउन्ड र बायोप्सी।
उपचार: सर्जरी, केमोथेरापी, रेडिएसन र हर्मोन थेरापी।
बचाव: ४० वर्षपछि समय-समयमा म्यामोग्राफी गर्ने, नियमित व्यायाम र स्वास्थ्य तौल कायम राख्ने।

२. पाठेघरको मुखको क्यान्सर

यो पाठेघरको तल्लो भाग ९सर्भिक्स० मा हुन्छ। दक्षिण एसियाली महिलाहरूमा यो निकै व्याप्त छ।
कारण: ह्युमन प्यापिलोमा भाइरसको संक्रमण मुख्य कारण हो। सानै उमेरमा यौन सम्बन्ध र कमजोर रोग प्रतिरोधात्मक क्षमताले यसको जोखिम बढाउँछ।
लक्षण: योनिबाट अस्वभाविक रगत बग्नु, यौन सम्पर्कपछि रक्तस्राव, गन्हाउने सेतो पानी बग्नु र तल्लो पेट दुख्नु।
जाँच: प्याप स्मीयर र टेस्ट।
उपचार: सर्जरी, रेडिएसन र केमोथेरापी।
बचाव: खोप लगाउने र नियमित प्याप स्मीयर जाँच गराउने।

३. डिम्बाशयको क्यान्सर
 
यो महिलाको अन्डाशयमा हुने क्यान्सर हो, जुन प्रायः उमेर बढ्दै जाँदा देखिन्छ।
कारण: पारिवारिक इतिहास, हर्मोनल असन्तुलन र केही आनुवंशिक परिवर्तन।
लक्षण: पेट सुन्निनु वा भारी महसुस हुनु, थोरै खाँदा पनि पेट भरिनु, बारम्बार पिसाब लाग्नु र पेटको तल्लो भाग दुख्नु।
जाँच: अल्ट्रासाउन्ड  स्क्यान, रगत जाँच र बायोप्सी।
उपचार: सर्जरीका साथै केमोथेरापी वा टारगेटेड थेरापी।
बचाव: नियमित स्त्रीरोग विशेषज्ञसँग जाँच गराउने र स्वस्थ जीवनशैली अपनाउने।

४. इन्डोमेट्रियल क्यान्सर

पाठेघरको भित्री तहमा कोषिकाहरू असामान्य रूपमा बढ्दा यो क्यान्सर हुन्छ।
कारण: मोटोपना, हर्मोनल असन्तुलन, मधुमेह र ढिलो गरी महिनावारी रोकिनु।
लक्षण: महिनावारी रोकिएपछि पनि रक्तस्राव हुनु, अनियमित महिनावारी र पेल्भिक क्षेत्रमा दुखाइ।
जाँच: ट्रान्सभेजाइनल अल्ट्रासाउन्ड र इन्डोमेट्रियल बायोप्सी।
उपचार: सर्जरी, रेडिएसन वा हर्मोन थेरापी।
बचाव: तौल नियन्त्रण र हर्मोन सम्बन्धी समस्याको समयमै उपचार।
 
क्यान्सरबाट बच्न अपनाउनुपर्ने राम्रा बानीहरू: 
स्वस्थ र सन्तुलित आहार लिने। दैनिक कम्तीमा ३० मिनेट शारीरिक व्यायाम गर्ने। सुर्तीजन्य पदार्थ र रगतजन्य पदार्थ (रक्सी) बाट टाढा रहने। समयमै खोप लगाउने। नियमित क्यान्सर स्क्रिनिङ र स्वास्थ्य जाँच गराउने। महिनामा एक पटक आफैँले स्तन परीक्षण गर्ने बानी बसाल्ने।  (नवभारतटाइम्स) 


 

प्रतिक्रिया