समाचार टिप्पणी

रवि–बालेन दौडधुप र सरकारको घरदैलो

काठमाडौं । अदालतले दोषी करार गर्ला कि निर्दोष साबित गरेर चोख्याउला यो अर्कै कुरा हो तर धरौटीमा जेल बाहिर आएका रवि लामिछानेले राजनीतिको तलाउमा अगणित तरंग ल्याएका छन् । 

सार्वजनिक हुनेबित्तिकै रविले सबैभन्दा पहिला आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकारी जिम्मेवारी आफैंसँग फिर्ता गरे । सभापतिको आसनमा बसेर उनले तिव्रगतिमा राजनीतिक भेटघाट र सम्वाद सुरु गरे । रविको राजनीतिक दौडधुपले छाल गन्न मुस्किल पर्नेगरी तरंग मात्र ल्याएको छैन, ठूला राजनीतिक दलहरुभित्र समेत कम्पन सिर्जना गरेको देखिन्छ ।

काठमाडौं महानगर प्रमुख बालेन शाह र जेनजी प्रतिनिधिहरुसँगको भेटघाट र सम्वादले त पुसको चिसो नै बिर्सनेगरी राजनीति तताएको छ । यो भेटघाट र दौडधुपको परिणाम के हुने हो भन्ने त अहिले नै यकिन गरेर भन्न सकिने अवस्था छैन । तर प्रस्तावित संसदीय निर्वाचनमा नयाँ शक्तिहरुबीच सहकार्य भयो भने त्यसको सम्भावित परिणामले राजनीतिको नक्शा नै फेरबदल गर्ने अनुमान गरिन थालेको छ । यसमा आफूलाई ठूला दावी गरिरहेका दलहरु सबैभन्दा बढी सोचमग्न हुनपुगेको देखिन्छ ।

बालेन शाहले सक्रिय राजनीतिमा आएको घोषणा गरिसकेका छन् । बहालवाला मन्त्री कुलमान घिसिङको नयाँ पार्टी खुलिसकेको छ । रवि लामिछानेको पार्टीले त निर्वाचनमा भाग लिएर आफ्नो हैसियत स्थापित गरिसकेको छ । आगामी निर्वाचनमा यी तीन व्यक्ति र राजनीतिक शक्तिबीचको सम्भावित एकता र सहकार्यले नयाँ मतदातालाई आकर्षित नगर्ला भनेर कसैले दावी गर्न सक्दैन ।

२०७९ को संसदीय निर्वाचनका नयाँ मतदाता र आगामी निर्वाचनमा पहिलो पटक मतदान गर्न गैरहेका मतदाता पुराना दलहरुसँग निकै रुष्ट देखिन्छन् । नयाँ मतदाताको यो समूह निर्वाचनमा झण्डै निर्णायक भूमिका निर्वाह गर्न सक्षम छ, जसमा जेनजी पुस्ताको भावनात्मक सम्बन्ध जोडिएको छ । विगतको जेनजी विद्रोहमा यही समूहबाट ठूलो संख्यामा सहभागी भएको विश्वास गरिएको छ । यो समूहलाई रवि, बालेन र कुलमान नेतात्रयले सबैभन्दा बढी स्वाभाविक ढंगले आकर्षित गर्नेमा शंका गर्न सकिँदैन ।

रवि, बालेन र कुलमान समूहको भेटघाट र सम्वादबाट नयाँ मतदाता निकै प्रशन्न भएको देखिन्छन् । प्रवासमा रहेका नेपालीमा तुलनात्मक रुपमा ठूलो उत्साह पाईएको छ । एनआरएनका गुट उपगुटहरु नयाँ शक्तिहरुलाई पुठ दिन सक्रिय रहेको बुझ्न सकिन्छ ।

महानगर प्रमुख बालेन शाहले नेपाली कांग्रेसका निवर्तमान सांसद सुनिल शर्मासँग पनि भेटेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि उनीसँग प्रत्यक्ष सम्वाद गरिसकेका छन्, अरु त अरु पठाओका सिइओ असिमान पनि यो राजनीतिक सम्वादमा मिसिन पुगेका छन् । अभियन्ता खगेन्द्र सुनुवार यो भेटघाटमा सरिक थिए ।

जेनजी विद्रोहसँगै जोडिएर भदौ २४ मा ठूलो आगजनी सहित विध्वंश हुँदा रवि लामिछाने रहस्यमय तरिकाले नख्खु जेलबाट बाहिर आएका थिए र लगत्तै जेलको सूचना सार्वजनिक भएपछि फेरि जेल फर्किएका थिए । उनीमाथि लागेका केही अभियोगहरुको कानूनी निरुपण सहित मुद्दा किनारा लाग्न बाँकी नै छ । मुद्दा अदालतको विचाराधीन रहेको छ । तर रवि धरौटीमै सही जेल बाहिर आए पछि राजनीतिमा उनले तरंग भने ल्याईदिएका छन् ।

तीन ठूला दलहरुमध्ये एमालेले महाधिवेशन सकेको छ र केपी शर्मा ओलीलाई नै फेरि अध्यक्ष चुनेको छ । माओवादी नाम त्यागेर विभिन्न वामपन्थी दलहरुको मोर्चा बनाएका पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टीका संयोजक हुनपुगेका छन् । उनको यो मोर्चा कति लामो अवधि  अस्तित्वमा रहन्छ, त्यो कुनै निश्चित छैन । विगतमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको आयु देखिसकेका जनताले यो नयाँ मोर्चाको दीर्घजीवन प्रति पनि आशंका गरिरहेका छन् ।

नेपाली कांग्रेस मिति निर्धारण भैसकेको १५औं महाधिवेशन गर्ने कि नगर्ने भनेर निर्णय गर्न सकिरहेको छैन । प्रस्तावित संसदीय निर्वाचनपछि महाधिवेशन गर्ने कि महाधिवेशन सकेर संसदीय निर्वाचनमा सहभागी हुने भनेर निर्णय गर्न नसक्दा मुखमै आईसकेको महाधिवेशनका गतिविधि शुन्य जस्तै देखिन्छ ।

यसैवीच आज सरकारका प्रवक्ता सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले ठूला तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटेर निर्वाचनबारे उनीहरुको धारणा बुझेका छन् ।

खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर सम्वाद गरेका हुन् ।

तीन नेतामध्ये देउवा र प्रचण्डले निर्वाचन नै प्रमुख प्राथमिकता भएको धारणा दिएका छन् भने ओलीले निर्वाचनमा सुरक्षाको प्रत्याभूति खोजेका छन् । सरकारले स्थान हद तोकेकाले हुनसक्छ ओली सुरक्षाप्रति बढी चिन्तित देखिएका हुन् ।

सरकारले आफ्ना प्रतिनिधि पठाएर सबैजसो मुख्य दलका कार्यालयहरुको स्थलगत अनुगमन समेत गरिसकेको छ । प्रधानमन्त्री सुशिला कार्कीले पनि समयमै निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ताको साँचो बुझाउने कुरा दोहोर्याउँदै आएकी छिन् । सरकारको सक्रियता हेर्दा दलहरुलाई सबै कुरामा आश्वस्त तुल्याएर निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण गर्न उ तयार छ भनेर बुझ्न सकिन्छ ।

प्रतिक्रिया