काठमाडौं। लामो अन्योल चिर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको समन्वय र प्रधानसेनापति अशोक राज सिग्देलको व्यवस्थापकीय भूमिकामा प्रमुख दलहरु सहितसँग राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने टुंगो भएको हो । कार्कीको शपथ केहीबेरमा हुने भएको छ ।
राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार शपथ ग्रहणको तयारी भैरहेको छ।
राष्ट्रपति पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै शपथ ग्रहणको कार्यक्रम राखिएको छ । नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनेछिन्।
यसैसाता २३ र २४ गते भएको जेन जीको विरोध प्रदर्शनसँगसँगैको विभत्स हिंसा र आगजनीबाट उत्पन्न जटिल र संवेदनशील परिस्थितिपछि देशमा ठूलो राजनीतिक अन्योल उत्पन्न भएको थियो भने सर्वत्र चिन्ता छाएको थियो ।
त्यसपछि निरन्तर भएको सम्वाद र छलफलपछि कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति बनेको हो । अब संसद विगठन गरेर निश्चित समयपछि आमनिर्वाचन गराउने व्यवस्थापकीय भूमिका नयाँ सरकारले गर्नुपर्ने छ ।
चिनौं सुशीला कार्की
नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्ने अवसर पाएर इतिहास रचेकी व्यक्तित्व हुन् सुशीला कार्की । उनले २०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गरेकी थिईन् ।
इमानदार, निष्पक्ष र साहसी न्यायाधीशको पहिचान बनाएकी कार्की भ्रष्टाचारविरुद्ध कठोर निर्णय गर्ने र न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने व्यक्तित्वको रूपमा परिचित छिन् ।
उनको व्यक्तित्व निडर स्वभाव र सरल जीवनशैली अपनाउने न्याय क्षेत्रमा स्वच्छ छविको रूपमा स्थापित छ ।
कार्कीको कार्यकालमा विभिन्न ठूला मुद्दाहरूमा ऐतिहासिक फैसला भएका थिए । जसमा आमाको नामबाट नागरिकता लिन पाइने आदेश, ठूला राजनीतिक व्यक्ति विरुद्धका भ्रष्टाचार मुद्दामा कठोर निर्णय र तत्कालीन कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको आदेशलगायत छन् ।
कार्कीमाथि देशका प्रमुख दलहरुले आफ्ना विरुध्द अप्ठेरो अवस्था आईपर्ने देखेपछि रातारात महाभियोग प्रस्तावसमेत ल्याएका थिए तर न्यायिक स्वतन्त्रताप्रतिको जनसमर्थनका कारण त्यो प्रस्ताव अघि बढेन । अहिले जेन जी समूहको मुख्य एजेन्डा भ्रष्टाचार नियन्त्रण र अनुसन्धान रहेको छ, उनीहरुकै माग अनुसार कार्की प्रधानमन्त्री नियुक्त भएकी छिन् । त्यसैले निलम्वनको जस्तो अवस्थामा रहेका दलका नेता एकििकसिमले भयभित जस्तो देखिएका छन् ।
प्रतिक्रिया