अन्तरिम सरकारः कार्कीका नाममा दलहरु पनि सहमत, आजै निर्णय हुने सम्भावना

काठमाडौं । अन्तरिम सरकारको नेतृत्व कसलाई भन्ने बिषयमा हिजो टुंगोमा पुग्ननसकेको छलफल आज पनि जारी रहने भएको छ । अहिलेसम्म पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने भन्ने विकल्पकै वरिपरी छलफल केन्द्रित भएको छ । थाहा भए अनुसार आजको छलफलबाट निर्णय गर्ने सम्भावना छ । विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । 

अन्तरिम सरकारको नेतृत्वका लागि कार्की बाहेक अर्को विकल्प त्यति धेरै चर्चामा आउन सकेको छैन । काठमाडौं महानगर प्रमुख बालेन साहले कार्कीको समर्थन गरेपछि दोस्रो व्यक्तित्व छलफलको एजेन्डा बन्न सकेको छैन । धरान नगर प्रमुख हर्क साङपाङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रधान सेनापति अशोक सिग्देलको कार्यकक्षमा एकदुइ पटक देखिएपछि उनीहरु पनि अन्तरिम सरकारको नेतृत्वका वैकल्पिक उम्मेदवारका रुपमा चर्चामा नआएका होइनन् । तर पछिल्लो समयमा ती दुवै नाम उच्चारण गर्न छाडिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधान सेनापति अशोक सिग्देलको समन्वयमा पूर्व प्रधानन्यायाधीश कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर लामो छलफल गरेका थिए । तर संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति नजुटेपछि छलफल निष्कर्षमा पुग्न नसकेको बताईएको छ ।

आज शुक्रबार बिहान ९ बजेदेखि नै छलफल अगाडि बढाईएको छ । कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा प्रमुख दल पनि सहमत भएको बुझिएको छ ।

कतिपय संविधानका जानकारले प्रधान न्यायाधीश भैसकेको व्यक्ति सरकारको नेतृत्वमा जान मिल्ने कि नमिल्ने भनेर कार्कीलाई नैतिक संकटमा पारिदिएकाले छलफल लम्बिएको बताईएको छ । तर वर्तमान विशिष्ट अवस्थालाई ध्यानमा राखेर देशका लागि योगदान गर्दा त्यो प्रश्न त्यति गम्भीर नरहने भनेर बाटो खोल्ने प्रयाश भैरहेको छ ।

संशय र यथार्थ

एउटा स्वार्थी समूहबाट मेडिकल व्यवसायी प्रसाईंको प्रधान सेनापति कक्षमा पटक पटकको उपस्थितिलाई लिएर सेनाले जनता र दलहरुलाई अलमलमा पारेर पूर्व राजालाई पुनस्थापित गर्ने दाउ हेरिहरहेका छन् भनेर उडन्ते हल्ला नचलाईएको होइन । धेरै फलोअर भएका फेसबूक एकाउन्टबाट यसकिसिमका उडन्ते सूचना प्रचार गरेर मानिसहरुको निन्द्रा खल्बल्याउने समूहबाट सतर्क रहन आवश्यक देखिएको छ।

आज बिहान नेपाली सेनाको सचिवालयले पनि झुटा र भ्रामक समाचारबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै त्यस्ता सूचना आए सेनासँग बुझेरमात्र निश्चित हुन सूचित गरेको छ ।

प्रसार्इंं निकै अघिदेखि राजालाई नारायणहिटीमा फर्काउँछु भन्दै क्रियाशील रहँदै आएका व्यक्ति हुन् । यसक्रममा भएका विभिन्न घटनाहरु सर्वसाधारणको जानकारी भन्दा बाहिर छैनन् । (तस्बिर साभार सोसल मिडिया)
 

प्रतिक्रिया