काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुको कुहिएको पीठोले पनि बजार पिटेको टिप्पणी गर्दै आफ्नो चामल समेत नबिकेकामा चिन्ता प्रकट छन् ।
चामल अर्थात् प्रचण्ड नेतृत्वको सरकारले गरेका ‘राम्रा काम’ को चर्चा नभएको सन्दर्भमा उनले माओवादी संगठनले आफ्ना राम्रा कामको समेत प्रचार गर्न नसकेको उनको गुनासो थियो । बारम्बार सत्तामा पुगेको माओवादी नेतृत्वले आफ्नो संगठन संयन्त्र सुविधाभोगी हुँदै गएको अनुभव गर्न थालेको बुझ्न सकिन्छ ।
त्यसो त सत्ता समीकरण फेरबदलमा आफूलाई अब्बल खेलाडी ठान्दै आएका प्रचण्ड संसदका ठूला दुइ दल नेपाली कांग्रेस र एमाले मिलेपछि सत्ताको दर्शकदीर्घामा पुगेका छन् । दर्शकदीर्घामा बस्ने दर्शक जतिसुकै सिपालु खेलाडी भएपनि खेल उसैले खेल्न पाउँछ जो मैदामा छ । सबैलाई थाहै छ, फुटबल खेलमा ११ जना खेलाडीमात्र मैदानमा उत्रन पाउँछन् र उनैले ९० मिनेट खेल्न सक्छन् । यसरी हेर्दा प्रचण्ड तत्कालका लागि सत्ताका १२ खेलाडी हुन् ।
भर्खरै प्रचण्डले आफ्नो बजारभाउ घटेको भनेर सार्वजनिक सभामै स्वयंको आलोचनात्मक समीक्षा पनि गरेका थिए । कुनैबेलाको आफ्नो शक्तिको तुजुक सम्झँदै प्रचण्डले भनेका थिए,‘ कुनैबेला यो प्रचण्ड कस्तो थियो, अघिपछि जनमुक्ति सेनाको सुरक्षा हुन्थ्यो, बीचमा मेरो सवारी । त्यतिबेला कुरै अर्को थियो । आज हेर्नोस् त प्रचण्डको हाल !’
भनाई सुनेर कार्यकर्ता गललल्ल हाँसेका थिए !
भाउ घटायो कसले प्रचण्डको ? प्रश्न यो मननीय छ र समीक्षायोग्य पनि । यस्तो प्रश्न केवल प्रचण्डको मात्र होइन, सत्ताको लक्षमा मात्र ध्यान केन्द्रित भएका सबै नेताहरुको पनि हो । जसका बारेमा गम्भीर समीक्षा हुन आवश्यक भैरहेको छ ।
ऐतिहासिक नगर लम्जुङ पुगेका प्रचण्डले मस्र्याङ्गदी गडतिरमा ‘मर्निङ्ग वाक’ गर्दा गरेको यो चिन्तन वास्तवमा उनको आत्मस्वीकृति पनि हुनसक्छ । कुनै नेताले जब आफ्नो बजारभाउ घट्यो भनेर स्वयं थाहा पाउँछ भने उ अझै केही गर्न सक्षम छ भन्ने बुझ्न सकिन्छ । यसैपनि प्रचण्ड राजनीतिमा उथलपुथल ल्याएर सके शक्तिको केन्द्रमा नसके सत्ताको चुनौति बनिरहन चाहन्छन् । यो कुरा पुष्टि हुँदै पनि आएको छ ।
आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएर प्रचण्डले संगठन पुनर्गठनको सन्देश पनि दिएका होलान् ।
लम्जुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसँग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं ।’
उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूति समेत साटे । उनले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भने,‘मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लम्जुङ आइपुग्दा तराई–मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो । तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ ।’
अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्वपूर्ण काम गरिएको सम्झिए ।
दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको दावी गरे । तेस्रो कार्यकालमा सुशासन अभियान सञ्चालन, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजीक न्यायको दायरामा ल्याउने, जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गर्ने र चीनसँग १४ वटा नाका खोल्ने जस्ता काम सम्पन्न भएको उनको भनाई थियो ।
प्रतिक्रिया