काठमाडौं । जम्मू–कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा क्लाउड ब्रस्ट हुँदा (बादल फुट्दा) कम्तीमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
किश्तवाड जिल्ला अस्पतालमा अहिलेसम्म ३५ जनाको शव ल्याइएको छ, जसमध्ये ११ जनाको पहिचान भइसकेको छ । मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनका अनुसार कम्तीमा ७० जना घाइतेलाई ब्लक र जिल्ला अस्पतालमा भर्ना गरिएको छ । जम्मू–कश्मीरका उपमुख्यमन्त्री सुरिन्दर चौधरीले घाइतेको सङ्ख्या करिब १०० पुगेको जानकारी दिएका छन् ।
घटनास्थलमा अचानक बाढी आएको थियो । यो क्षेत्र मचैल माता यात्राको सुरुवाती बिन्दु हो, जहाँ घटना बेला ठुलो भीड रहेको बताइएको छ । भारतीय सेनाको ह्वाइट नाइट कोप्र्सले राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाउँदै ६०–६० सैनिकका पाँच टोली र मेडिकल टिम घटनास्थलमा परिचालन गरिएको जनाएको छ । बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी छ।
जम्मू–कश्मीरको मुख्यमन्त्री कार्यालयले हेल्प डेस्क र कन्ट्रोल रुम नम्बर सार्वजनिक गरेको छ । राष्ट्रपति द्रौपदी मुर्मुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै राहतका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइने बताएका छन् ।
प्रतिक्रिया